कविता "अठोट"
काँधमा हलो बोकेर झर्ने हलिया भाइको
जवानी सारा कमैंया बनि सकौँने दिदीको
बालक काल कमलरी भै बितौँने बहिनीको
आवाज बोकी आउँदैछौं अब गाउँ र बस्तिमा
मसल बाल्दै स्वतन्त्र खोज्दै हिड्दैछौँ गस्तिमा
ढिकी र जाँतो चुलोचौको नै संसार मान्नेको
मध्यको सुर्य पिठ्यौँमा बोकी बाँझो फुटाउँनेको
पसिना सरी शरिर भरि खुन बगाउँनेको
पटुकी कसी भोकले रुँदै रातै बिताउँनेको
आवाज बोकी उठ्दैछौँ अब शहर गाउँमा
छेड्दैछौँ युद्ध गरिब दिन-दुःखीको नाउँमा
बन र पाखा घाँस-दाउरा जिन्दगी ठान्नेको
नुहेर बस्नु नबोली स'नु सस्कार भन्नेको
चिम्लेर आँखा अरुकै नीति सिद्धान्त हेर्नेको
भाग्यनै दोषी ठानेर सधैँ जीबन हार्नेको
आवाज बोकी सत्यको दियो बालेर रातमा
उठ्दैछौँ घाउ बेदना पीडा बोकेर साथमा
मानव खुन पिएर आफू ठूलो हुँ भन्नेको
अरुको श्रम पसिना माथि हक जमाउँनेको
चिप्ला र मिठा कुराको कैँची सधैँ चलाउँनेको
ठगेर सारा जनता आफ्नै दियो जलाउँनेको
विरोध गर्दै जुट्दै छौँ हिम्मत बोकेर साथमा
न्यायको नयाँ बिहानी भेट्न हिड्दैछौँ रातमा
मधुश्री
१३ असोज २०६७
No comments:
Post a Comment