कविता "संघर्ष"
सकियो भन्थे युद्धको दिन
झुल्कियो ठान्थेँ उषा किरण
भ्रम रहेछ मनको मेरो
हिड्नै पो'रैछ लामो गोरेटो
थकाई मार्न चौतारी बस्दा
बेचैनी भा'छु पासोमा पस्दा
फुत्किन गारो हुँदैछ अब
अजिंगरको यो मुखबाट
आकास खुला उडेँ म भन्थेँ
पिजडा भित्र थुन्निसकेछु
पखेटा मेरो अस्तित्व ठान्थेँ
फर्केर हेर्दा काट्टिसकेछु
जानुछ उँभो तान्दछ तल
बाँधेर हात हान्दछ बल
थुनेर मुख लौ बोल भन्छ
निभाई दियो उज्यालो ठान्छ
हिम्मत फेरी जुटौँदै छु म
पिजडा आफैँ फुटौँदै छु म
लड्दैछु दुष्ट मर्दिन यसै
लक्ष्यमा पुग्छु थाक्दिन त्यसै
अलाप गर्दै बस्दिन अब
भरोसा भ्रम्मा पर्दिन अब
माग्दिन कुनै धोकाको साथ
चिनेर बढ्छु सत्रुको जात
हिड्नु हो कर्म म हिडिरन्छु
नयाँ युगको प्रतिक्षा गर्दै
संघर्ष मेरो प्राण हो एक
गगन चुम्ने सपना भर्दै
मधुश्री
१५ असोज २०६७
No comments:
Post a Comment