Saturday, December 11, 2010

पत्र १० - दिब्यको पत्र किरणलाई !!

कमेरड किरण
लाल सलाम
तपाईँको पत्र प्राप्त गरेको धेरै भैसक्यो । समय अभावका कारण पत्रको जवाफ दिन ढिलो भएको महसुस गर्दैछु । हिजोआज कार्यक्षत्रमा भन्दा पनि अलि बढी आफैँ अध्ययनमा लागेको छु । समाजिक रुपमा घटिरहेका विभिन्न घटनाक्रमहरुको अध्ययन अनुसन्धान गर्दैछु । मलाई आफूले अंगाल्दै आएको सिद्धान्त प्रति बितृष्णा जाग्नुको कारण खोज्दैछु म यतिबेला । मैले बाटो बदल्नुको अर्थ खोज्दैछु । बिद्रोही हुनुको सार खोज्दैछु । कमेरड किरण ! तपाईँले लेख्नु भएको अनेकौ प्रश्नको जवाफ म बिस्तारै दिनेछु । यतिबेला म आफूले टेकेको धर्तीमा दरोसँग उभिने कोसिस पनि गर्दैछु । आशा छ तपाईँले मेरो पत्रको प्रतिक्षा गर्नु हुनेछ ।
कमरेड किरण ! यतिबेला मेरो मनमा धेरै सवालहरु उब्जिरहेका छन् । जसको जवाफ म खोजिरहेको छु । यसैको लागि आफूलाई अध्ययनमा ब्यस्त पनि गराउँदैछु । हामीले जुन प्रकारको सामाजिक रुपान्तरणको सपना देखेका थियौँ । जस्तो सभ्य समाजको सपना देखेका थियौँ । त्यो समाज, सामाजिक सभ्यता प्राप्त गर्न नसक्नुको कारण खोज्दैछु । यतिबेला समाजलाई भड्काउँने तत्वहरुको बिगबिगी देखिन थालेको छ । मान्छेहरुलाई बिभिन्न लोभ लालचमा पारेर, यथार्थता भन्दा पर काल्पनिक दुनियाँमा सयर गराउँदैछन् आफ्नै आँखा सामु ! नरनारीहरुको सामुहिक बलात्कार गरिँदैछ । शान्तिको खोजिमा भौँतारिएका मनहरुलाई संकटको फाइदा उठाउँदै विभिन्न धर्मको नाउँमा आफूतिर केन्द्रिकित गरिदैछ । यो परिस्थिति बिकराल रुपमा अगाडि बढ्दैछ । रोक्न खोज्ने, रोक्ने संयन्त्र अहिले सम्म जन्मिएको छैन । धर्मको नाममा मनगणन्ते दर्शन फलाक्दै मान्छेको मनमा जुन प्रकारको भ्रम फैलाइरहेको छ, अहिलेको परिस्थितिमा यसलाई नरोक्ने हो भने हाम्रो समाज अगाडि बढ्नुको अलावा सयौँ बर्ष पछाडि धकेलिने छ । तर यसको चासो कसैले पनि नलिएको देखिन्छ ।

बिज्ञान सबैभन्दा ठूलो मानव दर्शन हो । यसलाई नजर-अन्दाज गर्दै अहिले पनि स्वर्ग र नरकको कहानी सुनाएर बिकसित सामाजिक सभ्यतालाई उभिण्डो पार्ने खेलले हाम्रो लडाइलाई विजयको धेरै टाढा पुर्याउँदैछ । हामीले बेलैमा सचेत हुनु जरुरी छ यसको लागि । मानिसमा यसरी अन्धबिस्वास भरिदिएको छ कि ऊ धर्मको नाममा आफ्नो सर्वस्व गुमाउँन सक्छ । आफू समाजमा नांगिन सक्छ । तर आफ्नो अगाडि रहेको भोको पेटलाई उसले घृणा गर्छ । उल्टै शोषण गर्छ विभिन्न बाहनामा । यहाँ मानवधर्मको कुनै अर्थ नै छैन । यज्ञ, महायज्ञको नाममा मानिसले आफूलाई कसरी नंग्याउँदैछ भन्ने प्रमाण अहिले समाजमा घटिरहेका विभिन्न घटनाहरुमा देखिरहेका छौँ । यो विकृतिले मानिसलाई झन असान्त बनाउँने छ किनकी मानिसले स्व-इच्छाले भन्दा पनि समाजको आगाडि आफ्नो अपमान नहोस भनेर बाध्य हुँनै आफूलाई सामुहिक रुपमा लुटाउँने गर्छ । अन्धबिस्वासमा डुब्दैछ हाम्रो समाज ।

बाहिर कम्युनिजमको कुरा गर्ने, माक्सवाद, लेलिनवाद, मावबादको कुरा गर्ने, भौतिकवाद, द्वन्द्ववादमा बिस्वास गर्ने अनि काम र ब्यवहारमा चाहि निरंकुष, तानासाही, निम्नपूँजीवादी, सामन्तवादी जस्ता चरित्र देखाउँने, अन्धबिस्वासमा डुब्ने तत्वहरुले हाम्रो सामाजिक परिवर्तनको बाटोमा सदैव कठिन परिस्थिति निम्त्याएका छन् । हामी तमाम सर्वहारा वर्ग यिनै चरित्रहरुको पासोमा परिरहेका छौँ । पटक-पटक धोका खाइरहेका छौँ । फेरी पनि यिनैको भरोषामा अगाडि बढ्न बाध्य छौँ । कहिले सम्म हामी आफैँलाई धोका दिइरहन्छौँ ? हाम्रो समाजमा अहिले पनि सत्य के हो, सहि मानेमा वर्ग संघर्ष के हो, द्वन्दवादी दर्शन के हो, हाम्रो लक्ष्य के हो, लक्ष्य प्राप्तिको लागि हामीले गर्नु पर्ने संघर्षका चरणहरु के-के हुन, ति बाटाहरु के-के हुन, अहिलेको अवस्थामा हाम्रो सामाजिक दुश्मन को हो र हाम्रो लडाइ अब को सँग हो भन्ने कुरा प्रष्ट हुन सकिरहेको छैन । हाम्रो बाटोको बाधक को हो भन्ने किटान भएको छैन । हामी कहिले हामी जस्तै मजदुरहरुलाई दुश्मन ठान्छौँ त कहिले ठूलो सामन्तबादलाई पनि मित्र ठान्छौँ ।

हामीले बिर्सनु नहुने कुरा के हो भने हाम्रो लक्ष्य साम्यवाद हो । वर्गबिहिन सामजको निर्माण गर्नु हो । मजदुरहरु कहिले पनि हाम्रा दुश्मन हुँदैनन् । यदि देखिए भने हाम्रो असफलता हो यो कि हामीले मजदुरहरुलाई वर्गसंघर्षको बारेमा बुझाउँन सकेनौँ । हामीले फरक धारणा राख्ने मजदुरहरुलाई दुश्मनको दर्जामा नराखी आफ्नो पंतिमा सामेल गराउँन हर तरहले प्रयास गर्नै पर्छ । अर्को कुरा जस्तो सुकै भएपनि सामन्तवाद हाम्रो मित्र हुन सक्दैन । ऊ हाम्रो अटुट दुश्मन हो । सामन्तबादसँग हाम्रो दुश्मनि त्यतिबेला सकिन्छ जति बेला उसको अस्तित्व सकिन्छ ।

हाम्रो अहिले सम्मको असफलताको कारण हाम्रो समाजिक चेतनाले बुझ्न सक्ने भौतिकबादी तथा द्वन्दवादी दर्शनको कमीले हो । बर्तमानको चेतनालाई सुहाउँने दर्शनको खाँचो छ यहाँ । मालेमावादमै टेकेर आफ्नो अनुकुलको दर्शन लेखिनु आवस्याक छ जसलाई हाम्रो समाजले सजिलै बुझ्न सकोस ! आफ्नो मित्र र दुश्मन आफैँले चिन्न सकोस । आफूले अंगालेको सिद्धान्तको कमि-कमजोरी आफैँले छुट्याउँन सकोस । हामीले हाम्रो कार्यक्षत्रमा धेरै अस्पष्टताहरु देखिरहेका छौँ । तिनलाई स्पष्ट पार्नुको सट्टा विभिन्न बाहना गरेर पन्छाउँन खोजिरहेका छौँ । यसले हामीलाई झन जटिल अबस्थामा पुर्याएको छ । जबसम्म यस्ता अस्पष्टताहरुलाई स्पस्ट परिदैन तबसम्म विभिन्न नाममा बिद्रोहीहरुको जन्म भैरहनेछ । तसर्थ अबको हाम्रो युद्धको थालनी भनेको स्पष्ट दर्शनको खाका तयार गर्दै जनचेतना फैलाउँदै अगाडि बढ्नु हो । समाज भड्काउँने तत्वरहरुको बस्तविकता प्रस्ट सँग देखाइदिनु हो । सत्यलाई बुझ्न सक्ने चेतनाको बिकास गराउँनु हो । तब मात्र हाम्रो उद्देश्य प्राप्त हुनेछ । हुनसक्छ यो यात्रा पचासौँ बर्ष सम्म जारी रहला । तर सत्यको विजय निस्चित छ ।

कमरेड किरण ! हिजोआज म यिनै विषय बस्तुमा केन्द्रित छु । समस्या केलाउँदैछु र समाधानको बाटोहरु खोज्दैछु । हाम्रा धेरै साथीहरुको बीचमा बहस चलाई रहेका छौँ । जसरी पनि हामीले यात्रालाई सफलतातिर लैजानै पर्छ । हामीले थाक्नु हुँदैन । तपाईँको पत्रबाट पनि मैले धेरै हौसला पाएको छु । मैले घर छोडेको कुरालाई लिएर जुन प्रकारको बिरोध र समर्थन भएको छ त्यसलाई समयसँगै म जवाफ दिनेछु । विना मतलव, विना कारण कसैले पनि यस्तो कदम चाल्दैन । मैले बुझेको छु म के गर्दैछु भन्ने कुरा । समाजले जवाफ पाउँनेछ र चित्त बुझ्दो जवाफ पाउँने छ । म स्पष्ट छु आफ्नो यात्रामा, आफ्नो लक्ष्यमा । म पत्र लेख्नेछु छिट्टैनै । अहिले म वैचारिक स्पष्टताको लागि संघर्ष गर्दैछु । मलाई आशा छ तपाईले पनि मेरो अस्पष्टतालाई स्पष्ट पार्न मद्दत गर्नु हुनेछ । अर्को पत्र लेख्ने वाचा गर्दै अहिले विट मार्दैछु । तपाईँको पत्रको आशामा अहिले बिदा ।

उही तपाईँको साथी
दिब्य
२५ मंसिर २०६७
                                                                                                   

  मधुश्री 

No comments:

Post a Comment