गारो छ थेग्न सुनामी अब जनता उठ्दैछन्
धोका र घात बिरुद्ध अब जनता जुट्दैछन्
बस्ने हो कति ताण्डब नृत्य हेरेर चुप भै
तात्दैछ खुन फलाम सरी जम्दैछ क्रुध भै
अध्यारो रात पहरा पाखा खोल्सामा हिडियो
मुक्तिको आशा बोकेर सधैँ युद्धमा भिडियो
पटुकी कँसी भोको पेटमा आश्थाले बेरियो
भरोसा बोकी शिखर चुम्न बङ्कर्मा छिरियो
भरोसा तोडी गोरेटो छोडी कुबाटो हिड्नेको
सपना बाँडी मुक्तिको आज सामन्त बन्नेको
जनता मारी रगत होली खेलेर रम्नेको
बिद्रोही भन्दै दुखिया माथि संगिन रोप्नेको
हिसाब राख्दै बदला भाव चौतर्फी जाग्दैछ
हिजोको मुना क्याक्टस जस्तै घातक बन्दैछ
आँखाको सामु झरेका फूल झल्झली नाँच्दैछ
गोरेटो खोज्दै रावण मार्ने क्रोध जो साँच्दैछ
भोकको बेला खाना खै भन्दा गोलीले भुटियो
अवला चेली आमा दिदीको अस्मिता लुटियो
घाइते ज्यान न्याय नपाई निर्घात कुटियो
निर्दोष फूल झारेर भैँमा जीवन टुटियो
राज्यको शक्ति आफ्नै ठानेर अन्याय गर्नेको
रगत श्रम लुटेर आफ्नो भकारी भर्नेको
झुपडी बाली बंगला भित्र कोइला ताप्नेको
फिजाई स्वार्थ पैसाले धनी गरीब नाप्नेको
हिसाब राख्दै स्वाभिमानी जो जुरुक्क उठ्दैछ
फालेर बास्ना फूलले अब दुर्गन्ध छोड्दैछ
अमृत आफै अस्तित्व भुली बिषालु बन्दैछ
शासक मास्ने मुक्ति युद्धको गोरेटो खन्दैछ
पहाड फोरी तराई खोसी हिमाल ताकियो
अशान्ति हावा फालेर शान्ति नाटक रचियो
बेचेर पानी जमिन सत्य भ्रममा पारियो
नेपाली मुटु संगिन छर्दै बिदेश सारियो
नेपाल माथि बिदेशी नाच्दा रमाई हेर्नेको
भक्त हुँ भन्दै देशको मुटु कलेजो चिर्नेको
नेपाली मार्न बिदेशी गोली बन्दुक भिर्नेको
दलाली बन्दै आशिर्वादले राज्यमा छिर्नेको
हिसाब राख्दै नेपाली आफू सतर्क बन्दैछ
नग्याई रुप मुखुण्डे सबै औँलामा गन्दैछ
हतौडा हैँस्या कुटो कोदालो बोकेर उठ्दैछ
श्रम र सिप थाकेर बाटो मुक्तिको खन्दैछ
सकिन्न कैल्यै बिद्रोह अब सामन्त नसकी
समाजवाद देशका अंग-अंगले नबकी
समान राज्य पहुँच सबै समान नभई
मानव एक अस्तित्व एक सर्वत्र नछाई
आकास भरि बड्दैछ कालो बादल मडारी
आँधी र हुरी चल्दैछ यहाँ फोहोर बडारी
रुखले रुप फेर्दैछ अब ऐँजेरू झारेर
बुट्यान बामे सर्दैछ जरा चौतर्फी फालेर
चुलोले राँको बाल्दैछ आफैँ उठ्दैछ मसाल
खरको झुप्रो हिड्दैछ दन्की बालेर मसाल
हिमाल घिऊ थप्दैछ तेल पानीले दियोमा
बढ्दैछ सत्य सामन्त खोप्ने तागत सियोमा
बाँसको लठ्ठी बन्दुक बन्दै बज्रिदै जानेछ
बलौटे माटो जमेर गोली चट्टान बन्नेछ
रुखको पात, घुस्यान मिली चिता त्यो बन्नेछ
जल्नेछ अब उम्किने छैन सामन्त ढल्नेछ
बिहानी लाली बोकेर सूर्य मुस्काई फिर्नेछ
समान ताप, प्रकाश राप फिजाई हिड्नेछ
खुसीको प्रहर आउँछ छिट्टै मुस्कान ल्याउँछ
आउँछ साथी जनवाद त्यो सर्वत्र छाउँछ
मधुश्री
२८ पौष २०६७
No comments:
Post a Comment