Saturday, October 8, 2011

मुक्तियुद्ध



ए साथी-संगी जुटेर अब अगाडि बढ्नु छ
मुक्तिको लागि अन्तिम युद्ध हामीले लड्नुछ

देखियो रंग फेरेर सबै स्वार्थमै जुटेको
चाहना हाम्रो सत्ताकै आगो बालेर भुटेको
डुब्दैछ देश अहंकारमा सजक बन्नुछ
समाज हित बिरुद्ध बग्ने मुहान थुन्नुछ


भाँचियो हाँगा सुरिलो बोट घिस्रेर चढ्नुछ
मुक्तिको लागि अन्तिम युद्ध हामीले लड्नुछ

कतै छ आगो कतै छ पानी यो साँझ बिहानी
मुक्तिको स्वप्ना बगेर यहाँ भिज्दैछ सिरानी
शहिद प्यारा जन्माई आमा निराश बन्दैछिन्
भोकले कसी पटुकी उठ्न आग्रह गर्दैछिन्

पुछ्नुछ आँशु आमाको हामी साहारा बन्नुछ
मुक्तिको लागि अन्तिम युद्ध हामीले लड्नुछ

छट्पट्टी हुँदै निराशिएर बाँच्दैछौ हामी नि
तताई खुन आक्रोस भित्र साँच्दैछौ हामी नि
मनमा शान्ति ल्याउँने बाटो हामीले रोज्नु छ
देशको लागि निकास दिने बिकल्प खोज्नुछ

सान्तोना दिँदै बुझाउँदै मन मौनता तोड्नुछ
मुक्तिको लागि अन्तिम युद्ध हामीले लड्नुछ

सपना हाम्रो समृद्ध भुमि बनौँने सजौँने
हटाई सारा असमानता मिलेर रमौँने
संसारै भरी शान्तिको ध्वनी बनेर पुग्नुछ
खराब तत्व बिरुद्ध मिली संघर्ष गर्नुछ

नेपाल मात्र नेपाली भई हामीले उठ्नुछ
मुक्तिको लागि अन्तिम युद्ध हामीले लड्नुछ

मधुश्री
५ भाद्र २०६८

No comments:

Post a Comment