Saturday, October 30, 2010

प्यारी कमरेड छायाँ-पत्र ९

पत्र ९
प्यारी कमरेड, छायाँ
लामो हिम्मत जुटाएर यो पत्र लेख्दैछु । तपाईँको लगनशिलता, कोमलता, शहनशिलता यि सबैको शिकार हुन लागेछु म पत्तै नपाई । जुन अबस्थामा हाम्रो भेट भयो, त्यतिबेला तपाईँले पुर्याउँनु भएको योगदानको म प्रसंसा गरिरहन्छु । त्यो बेला थियो तपाईँको अगाडि म एउटा आदर्णिय ठानिन्थेँ । मेरो गोलीको छर्राले छेदबिछेद भएको शरिरलाई मृत्युको
मुखबाट जोगाएर आफ्नो कर्तब्य पुरा गर्नु भएको थियो । त्यो पनि अन्जान यात्रीको । मलाई याद छ जब होसमा आएँ तपाईँको सामु ढलेको आफ्नो शरिर जिउँदै देख्दा जिवनमा सबै भन्दा बढी खुशी भएको थिएँ । झण्डै एक महिना तपाईको घरमा बिताउँदा मैले धेरै कुरा सिकेँ । घर-ब्यबहार कसरी चलाउँनु पर्छ त्यो मैले कहिले पनि जानिन त्यस अघि । तर तपाईँका बुबा आमा भाई बहिनी सबैको सहकार्यमा चलेको परिवार देख्दा म पनि कल्पना गर्न सक्थेँ त्यस्तै परिवारको । तर के भनुँ म । मसँग त्यस्तो कुनै याद थिएन । यसको पनि एउटा छुट्टै कथा छ । अहिले लेखेर मेरो उद्देश्यलाई मोड्न चाहन्न ।
प्यारी कमरेड ! म त्यो दिन सम्झन्छु जुन दिन तपाईँले भन्नु भएको थियो "यो देशको परिवर्तन गर्ने ठेक्का लिनु भएको छ र तपाईँले ? किन आफ्नो जिवन यसरी बर्वाद गर्नु हुन्छ ? कस्को लागि यो लाडाईँ लड्नु भएको हो ?"
यिनै प्रश्नहरुको जवाफ दिँदादिँदै मैले तपाईँलाई पनि लडाईँ प्रति आकर्षण गर्न सकेको थिएँ । सत्य कुरा कति बुझाउँन सकेँ त्यो त थाहा छैन । तर आज जुन अबस्थामा तपाईँ हुनुहुन्छ यस्को पछाडि अलिकति त्यतिबेलाको खुराकले पनि काम गरेको छ कि जस्तो लाग्छ । त्यो बेला तपाईँमा भएको ढुलमुले सोच तर परिवर्तन मुखी चेतना, मुक्तिको चाहना अनि बाटो बिराएको यात्री जस्तै कताकता अल्मलिएको अबस्था, देख्दा मलाई अलिकति आशा थियो कि तपाईँले सही बाटो लिनु भयो भने निस्चित पनि आफ्नो लक्ष्यमा बिजय प्राप्त गर्न सक्नु हुन्छ । त्यसैले मैले केही कोसिस गरेको थिएँ सहि बाटो देखाउँने ।
आज तपाईँको स्थान देख्दा मेरो खुशीको सिमा छैन । उहि प्रकारको कट्टरपन, निडर, स्पष्ट उद्देश्य । फेरी पनि तपाईँको एउटा स्वभावमा कत्ति पनि परिबर्तन आएको छैन । त्यो हो तपाईँले आफ्नो ब्यक्तिगत खुशीको कहिँकतै पनि उपस्थित गराउँनु हुन्न । जिवनको त्यो पाटोलाई नै बिर्सिए जस्तो लाग्छ । जिवन त्यो खुशी पनि त हो । म हरेक पटक तपाईँको आँखामा त्यो भाव खोज्छु । धेरै पटक तपाईँ भित्र छाम्ने कोसिस पनि गरेँ । धेरैले भन्छन् तपाईँ पथ्थर जस्तै हुनुहुन्छ । रिसाहा हुनुहुन्छ । हत्पत तपाईँको अघाडि कुरा गर्न पनि डर लाग्छ रे । तर यो सबै झुटो हो । तपाईँ भित्रको कोमलतालाई मैले छामेको छु । त्यो अघोषित मायालाई मैले देखेको छु । त्यो माया तपाईँको उद्देश्यसँग गाँसिएको छ । मैले बुझेको छु ।

प्यारी कमरेड ! लामो समय देखि मैले भन्न नसकेको कुरा आज लेख्दैछु । मलाई के बिस्वास छ भने तपाईँले बास्तविकता, सत्यतालाई बुझेर मेरो भावनालाई गलत अर्थ लगाउँनु हुन्न । फेरी म प्रति दया करुणा देखाएर आफ्नो इच्छा बिपरित पनि केही निर्णय गर्नु हुने छैन । बस तपाईँ आफ्नो मनलाई सोध्नुस् । धेरै पटक सोध्नुस् । आफ्नो खुशी के मा छ त्यो राम्रो सँग पहिचान गर्नुस् । जिवन धेरै काम, कर्तब्य, सुख, दुःख, अनेक आरोह-अवरोहहरुबाट जेलिएको हुन्छ । अनेकौँ चुनौतीहरुको बिचमा पाईने थोरै खुशीले जिवनलाई सम्पूर्णता दिएको हुन्छ । मलाई आशा छ तपाईँले आफ्नो मनको आवाजलाई आफ्नो आवाज, मनको खुशीलाई आफ्नो खुशी मान्नु हुनेछ । तपाईँको जवाफबाट म सन्तुष्ट हुन चाहन्छु । तपाईँको जस्तो जवाफ आएपनि मलाइ स्वीकार्य हुनेछ ।

प्यारी कमरेड ! कुरा के हो भनेनी .... ! खै कसरी लेखुँ ....! जुन दिन म बेहोसीबाट होसमा आएँ । आफू ज्यूँदो भएको थाहा पाएँ । मेरो अगाडी मुस्कुराई रहेको एउटा आकृतिले मेरो मनमा हल्चल मच्चायो । आज सात बर्ष बितिसकेछ । तर म सँधै त्यो आकृतिलाई मनको नजिक देख्छु । त्यतिबेला केही भन्नु मेरो स्वाभिमानले दिँदैनथ्थो । फेरी तपाईँले म प्रति देखाउँनु भएको आदर भावप्रति अन्याय हुने थियो । हाम्रो मित्रता शुरु नहुँदै सकिने थियो । त्यसैले मित्रतालाई कसिलो बनाउँने उद्देश्यका साथ मैले आफ्नो हलचललाई आफैभित्र दबाउँदै अघि बढेँ । त्यो आकृतिलाई मनमा लिएर सुनौलो अनुभुतिका साथ बर्षका पात्रोहरु पल्टाउँदै गएँ । आज मलाई गर्व छ मेरो त्यो काँचो आकृतिमा निकै परिवर्तन आएकोमा । सानदार आकार बनेकोमा । हर्षले बिभोर हुन्छ मेरो मन । मेरी प्यारी कमरेड म तपाईँलाई हृदयदेखि नै माया गर्छु र जिवन भरिको लागि तपाईँको साथ चाहन्छु । के हामी एउटै रथमा यात्रा गर्नु सक्छौँ ?

सधैँ भरि आश्था, सिद्धान्त, लक्ष्य, कार्यदिशा आदिको बारेमा कुरा गर्ने म आज आफ्नै जिन्दगीको कुरा गर्दैछु तपाईँसँग । तर एउटा आग्रह के छ भने यो मेरो प्रेम हो । तपाईँको मनमा म प्रति त्यस्तो कुनै भावना नहुन पनि सक्छ । म भन्दिन तपाईँले मेरो खुसीको लागि आफ्नो चाहनालाई छोड्नुहोस् । तपाईँको जवाफ जे आए पनि मेरो तपाईँ प्रतिको मायामा, आदरमा कति पनि कमि आउँने छैन । म सधैँ तपाईँको साथमा रहने छु । एउटा असल साथीको रुपमा । त्यसैले फेरी भन्छु प्यारी कमरेड आफ्नो मनलाई सुन्नु होला । अनि आफूलाई खुशी मिल्ने जवाफ दिनु होला । निर्णय गर्ने अधिकार तपाईँको नै हुनेछ । सहि निर्णय गर्नु होला । तपाईँको पत्रको प्रतिक्षामा अहिले बिदा ।

सहयात्री कमेरड
सिद्धान्त
१३ कात्तिक २०६७
                                                        
                                                              मधुश्री
                                                       १३ कात्तिक २०६७

2 comments:

  1. यो पढ्दा मलाइ फेसबुकका एक मित्रको शब्द यहाँ राख्न मन लाग्यो । यसैलाइ फेसबुकमा खगेन्द्र लिम्बुले भन्नु भएको कुरा साह्रै चित्त बुझेर यहाँ हुबहु राखेको छु ।
    विश्वास छ, यहालाइ अापत्ती हुने छैन ।
    -----
    नेपाली साहित्यको वांगमयमा पत्र साहित्य साह्रै कम देखिन्छ । एकातिर, त्यतातिर कलम चलाउनु नै ठुलो कुरा हो भने विषयवस्तुको छनौट, विचार र सिद्धान्तको खुल्ला सम्प्रेषण, कला र प्रस्तुतिको लालित्य र जीवनको सुक्ष्मतम पाटोको उत्खनन बहुत चाख लाग्दो छ । एउटी नारी प्रति सम्बोधित पत्रले नारीको आफ्नो जीवन र बिचारको खुल्ला स्वतन्त्रतालाई सम्मान गरेकोछ lयो अर्को सशक्ति हो यो पत्रको ।

    जीवनको सिद्धान्तमा ब्यबहारिक र दैनिक क्रियाकलापले पनि ठुलो भूमिका निर्वाह गर्दछन lतिनलाई उतरारेर जीवनको पक्षपोषणको क्षेत्रमा दृष्टि पुर्याउनु जीवनदर्शनभित्र दर्शन हो ।

    अर्कोतिर मानवियताको ब्याख्या नि चाख लाग्दो छ lजीवन र जीवनको सिद्धान्तको खेलमा उठेको प्रासंगिक मायाबी (Passonate Love Affair ) प्रस्तावको जवाफ नआई सक्नु नै यो पत्रको रहस्यमय सुन्दरता हो । बधाई छ
    ----
    मेरो पनि यहाँलाइ हार्दिक बधाइ छ । अझै यहाँका कलमहरू यसै गरि अविश्राम, अविछिन्न चलिरहुन ।
    धन्यवाद ।
    विष्णु प्याकुरेल, उदयपुर ।

    ReplyDelete
  2. manma chhoyekoa bakyamsaharu, तपाईँको मनमा म प्रति त्यस्तो कुनै भावना नहुन पनि सक्छ । म भन्दिन तपाईँले मेरो खुसीको लागि आफ्नो चाहनालाई छोड्नुहोस् । तपाईँको जवाफ जे आए पनि मेरो तपाईँ प्रतिको मायामा, आदरमा कति पनि कमि आउँने छैन । म सधैँ तपाईँको साथमा रहने छु । एउटा असल साथीको रुपमा । त्यसैले फेरी भन्छु प्यारी कमरेड आफ्नो मनलाई सुन्नु होला । अनि आफूलाई खुशी मिल्ने जवाफ दिनु होला । -pagal yatree

    ReplyDelete