Tuesday, November 9, 2010

पत्र ९ की छायाँको जवाफ कवितामा-"लक्ष्य"



            लक्ष्य
फुलेको फूल बसन्ती मुना झैँ भयो मन यो
डुबेर हेर्दा मायाको बस्ती स्वर्ग नै झन यो
मनको कुनाँ उठेको छाल बगेर आएछ
अंजुली भरी बोकेर हेरेँ मायाले छाएछ

अक्षर भित्र मायाको मिठो सागर पठाई
मायाले बर्नु भयो नि साथी सिमाना हटाई
जिवन भरी साथ निभाउँने अठोट बोकेर
देखाउँनु भयो निस्वार्थ आफ्नो हृदय खोलेर


शिशिर पनि बसन्त बनी डुल्दैछ आँखामा
मनको चरी गाउँदैछ गीत मायाकै भाकामा
बगर भरि बालुवा कण हिरा झै चम्किँदै
उराठ बस्ती मुस्कुराउदैछ लाजले लजाउदै

फर्केर हेर्दा बिगत आफैँ भावुक हुन्छु म
जंगल बिच ढलेको ज्यान सम्झेर रुन्छु म
डर र त्रास बम गोलाले थर्केको धर्तीमा
आपत पर्दा साथ दिनुथ्यो आमाको अर्तिमा

सँगी र साथी मिलेर जब घरमा पुर्यायौँ
पानीको थोपा निलेको देखि हर्षमा रमायौँ
बिहान देखी बेलुकी सम्म पसिना बगाई
आमा र बाबा मिलेर खोजि औषधि बनाई

शरिर बाट निकाली गोली आशाले रमेथेँ
पुरेर घाउ बहोसी ज्यान अनिन्द्रै कुरेथेँ
पूर्वीय लाली चढेर धर्ती हिम्मत थप्दथ्यो
नजिक पुग्दा हृदय भित्र धड्कन बढ्दथ्यो

सपना बनि पस्दथ्यो दृश्य मन यो दुखाई
सुटुक्क आई एकान्त बस्थ्यो मन यो रुवाई
मुहार हेर्दा सुकुमार त्यो खोल्दैन आँखा जो
ढुक्ढुकी छाम्थेँ धड्कन सुन्थेँ बोल्दैन केही त्यो

समय सँगै पुरिँदै गयो हिजोको दुखाई
गोरेटो नयाँ हिड्नुथ्यो आफ्ना सपना लुकाई
पथमा नयाँ किरण थप्दै जानुभो साथीले
अँध्यारो मेरो बस्तीमा दियो बाल्नु भो साथीले

लाग्दथ्यो सारा अन्धकार छ सन्नाटा छाउँथ्यो
निराश फुल्थ्यो आशा रोपेनी बैरागै ल्याउँथ्यो
अन्तरमन दुख्दथ्यो सधैँ दुबिधा बढ्दथ्यो
मनको सुर्य बादल कालो आएर ढाक्दथ्यो

आँखाको सामु झुपडी रुन्थ्यो भोकले मर्दथ्यो
चिचिला मन झरेर जान्थ्यो किचिने गर्दथ्यो
न्यायको कुरा गरेर राज अन्याय गर्दथ्यो
दुःखीको दिन फिर्दैन भनि आशा यो झर्दथ्यो

काडाको बाटो छेउमा ल्याई लौ हिड भन्नु भो
अन्याय फाल्न न्यायको युद्ध लौ लड भन्नु भो
चिनेर आफू बर्गको निम्ति लड्ने यो अठोट
जन्माई दिनु भयो नि साथी फालेर ती खोट

बीचमा रैछु शिखर चुम्न अझै छ कठिन
दुःखको नदी तर्नै छ बाँकी हुँदैछ यकिन
अप्ठ्यारो बाटो भिरको मुनी के सोचुँ अब म
मायाको न्यानो यादमा डुबी हाँसू कि नाचूँ म

लड्नुछ अब अन्तिम युद्ध जुट्नु छ सबै नै
बर्गीय लक्ष्य गरेर पुरा हिड्नुछ साथमै
बिश्राम लिनु हुँदैन लाग्छ सोचेर खुशी यो
हातमा हात मिलाई जाउँ शिखर चुम्न त्यो

बिजय भई न्यायको हाँसो यो धर्ती हँसाई
मनको कुना साँचेर राक्या सपना जगाई
आउँनेछे प्यारा सिद्धान्त मेरा यो छायाँ रमाई
जिवन भरी दिन यो साथ मायाले सजाई


 मधुश्री
२३ कात्तिक २०६७

1 comment:

  1. समयको खाँचो कोरिएको छ । खै कसरी पो लेखुम अमुक छु । निकै प्रेरणादायी लाग्यो ।
    लड्नुछ अब अन्तिम युद्ध जुट्नु छ सबै नै
    बर्गीय लक्ष्य गरेर पुरा हिड्नुछ साथमै
    बिश्राम लिनु हुँदैन लाग्छ सोचेर खुशी यो
    हातमा हात मिलाई जाउँ शिखर चुम्न त्यो

    सबैको अावाज समेटिएको छ । यही त हो नी अाजको अावश्यकता ।

    ReplyDelete