महाकाली बन्दैछु
.....
चारै तिर सन्नाटा छ
सुन्सान मध्य-रात बाह्र बजे
एकोहोरो शोक धुन गुन्जिन्छ कानमा
डढेलो लागेको, धुँवामा रुमल्लिएको
राप ताप र सन्त्रासल फैलिएको वस्तिमा
बिस्तारै पाईला टेक्छु
कोलाहल छ सुँक्क-सुँक्क आवाजहरु
ऐया आथ्थाका चित्कारहरु !
उराठ मरुभुमी जस्तै अनुहार
निला ओँठहरु, चित्थरिएकको शरीर
जगल्ट्याएका कपाल, च्यातिएकको बस्त्र
क्षेदबिक्षेद शरीर लिएर
गर्हौ पाइलाहरु खोच्याउँदै
मेरो नजिक आउँछिन- एक नारी आकृति
लामो सुस्केरा भित्र साउती गर्छिन
"हेर तेरी आमा !
आफ्नै सन्तानबाट...!!
तेरै बाबुको निर्देशनमा....!!!"
आँखा चिम्लन्छु, भाव सुन्य हुन्छु
धर्ती हल्लिन्छ, पैताला भासिन्छ
घाइते तन-मन लिएर
आमा ओझेल पर्छिन !
आँखा उघारी हेर्दा
काकी अर्ध-मुर्छित,
दिदीको बिभत्स हत्या
रगतमा डुबेकी बहिनी
नि-वस्त्र लुटिएका आफन्तहरु...!
दुबै हातले आँखा छोप्छु
रिँगटा लाग्छ
रक्सी र चुरोटले डुङ्डुङ्ती छ बस्ती ।
कसैले कुँममा हात राखेको महसुश हुन्छ
म झस्किन्छु, तर्सिन्छू, भाग्न खोज्छु
देख्छु-दिन दहाडै सेतीको खोँचमा फालिएका
नबीता र विनीताहरु थिए दयाँबायाँ
सेती झैँ गहिरा चोटहरु बोकेर...!
शरीर थर्र काँप्छ शीर देखी पाउ सम्म
धर्तीमा भूकम्प गएको आभास हुन्छ
चारै तिर ज्वालामुखी फुट्छ
दया माया र करुणालाई विस्थापित गर्दै
धारिलो चट्टान बन्छ मन
आँशुलाई विस्थापित गर्दै
आगो निस्कन्छ आँखाबाट
म भित्रको नारित्व चिच्याउँछ
गला अवरुद्ध हुन्छ
नमिठो प्यास लाग्छ
पानीले बिल्कुल मेटिन्न
यो प्यास- रगतको...!
रगत देखी डराएर भाग्ने म
आज पिउँन सक्ने भएको छु –रगत
ती बलात्कारी दुराचारीहरुको
एउटा कठोर बिद्रोह
मेरी आमाको नारित्वको रक्षा गर्न
दिदीको जीवन बचाउँन
हजारौँ नवीता र विनीताहरुको रक्षा गर्न
बहिनीहरुको कुमारित्व जोगाउँन
बिशाल भुकम्पिय झट्का लिएर
प्रतिशोधको आगो बालेर
बिउँझिएको छु यो मध्य रातमा
खोजिरहेकोछु रगतको बलि
निर्दोष पशुहरुको हैन
म सचेत पशुहरुको बलि चाहन्छु
पिउँन चाहन्छु रगत
मेटाउँन चाहन्छ प्यास
त्यसैले मलाई नारी नसम्झ
म काली बन्दैछु
कमजोर नसम्झ
राक्षसहरुको बध गर्न जन्मिएको म
महाकाली बन्दैछु !
मधुश्री
सिन्धुपाल्चोक
No comments:
Post a Comment