युवाको गीत
यो पहाड हिमालमा फुल्दै तराई झर्छौँ हामी
गुरासको फूलसरी दिलैभरी बस्छौँ हामी
कतै श्रम गर्दै कतै शीप सजाउँछौँ हामी
युवा हाम्रो पहिचान यसमै रमाउँछौँ हामी
चेतनाको दियालोमा बिस्वासको तेल थप्दै
झुपडीको मझेरीमा स्वाभिमान जन्माउँदै
बनपाखा पधेँरीमा सुसेलीले गुन्जाउँदै
प्यारा मानिसको माझ आफ्नोपन जगाउँदै
धोका हाम्रो ठूलो शत्रु मित्र सत्य मान्छौँ हामी
समानता स्वतन्त्रता सधैँ खोजी गर्छौँ हामी
सँगै हाँस्छौँ सँगै रुन्छौँ साथ सँगै हुन्छौँ हामी
श्रम हाम्रो पहिचान पौरखमै बाँच्छौँ हामी
जाँतो पिस्ने आमालाई मानी ठोक्न सगाउँछौँ
ढिकी कुट्ने बाबालाई न्यानो साथ जगाउँछौँ
भारी बोक्ने दाजुसँग पसिना यो बगाउँछौँ
घाँस काट्ने दिदीसँगै घाँस भारी लगाउँछौँ
दुश्मनको कालो धन्दा पर्दाफास गर्छौँ हामी
सोझासिधा जनतामा आत्मबल भर्छौँ हामी
बाटो खन्छौँ सम्याउँछौँ पहाडनै फोर्छौँ हामी
अग्रगामी बाटो हाम्रो अब आफैँ खन्छौँ हामी
झुपडीको छानो टाल्छौ आँगनीमा आट लाउँछौँ
दुखेका ती मनहरु मित्रताले सितल पार्छौँ
हातमाथि हात राख्दै संघर्षको बाटो रोज्छौँ
नेपाली हौँ नेपालीको हृदयमा बास बस्छौँ
दोबाटोमा कुरा काट्दै गफिएर हिड्नेलाई
जुवातास क्यासिनोमा दिनरात भुल्नेलाई
कुहिएर समाजमा बिषादीनै फाल्नेलाई
रगत र पसिनामा सधैँ होली खेल्नेलाई
नाँच्न दिने छैन अब नाङ्गो नाच रोक्छौँ हामी
हात खुट्टा बाँधी तिनको बन्दीगृह खोज्छौँ हामी
आई लाग्नेलाई अब छोड्ने छैनौ ठोक्छौँ हामी
न्याय हाम्रो पहिचान गौरबले बोक्छौँ हामी
गल घन हतौडा यी हँसिया र डोको बोकी
निर्माणमा लामबद्ध हुँदैछौँ नी जोस बोकी
आउ हामी हातेमालो गरौँ सँगै हिडौँ पनि
बनौँनुछ नयाँ नेपाल बन्छ साथी लागौँ अनि
खनि खोस्री सुख्खा माटो नयाँ बिज छर्छौँ हामी
फाटिएका असमान धाँजाहरु पुर्छौँ हामी
माया साटी बस्तीभरी नयाँ रस भर्छौँ हामी
यौद्धा हाम्रो पहिचान बरु यहि मर्छौँ हामी
मधुश्री
कलिका-३, सिन्धुपाल्चोक
१७ चैत्र २०६७
http://www.janajibro.com/epaper.php
No comments:
Post a Comment