Wednesday, July 6, 2011

गीति कथा – नचम्केका ताराहरु

गीति कथा – नचम्केका ताराहरु
गीत - सोचे जस्तो हुन्न जीवन .....

मेरो जन्म काभ्रेको मजुवामा २०२० सालमा भएको हो । काठमाडौँ तिलगंगामा केही दशकयता हामी बस्दै आएका छौँ । काभ्रेको दुर्गम गाउँबाट बसाई सरेर आएका हामी दुःख सुख गरेर आफू र आफ्नो परिवारलाई पाल्दै आएका थियौँ । आर्थिक स्थिति मज्बुद थिएन ।
नोकारी गर्न पनि कठिन थियो । घर चलाउँन हामीले गाई पालेका थियौँ । गाई गोठ थियो हाम्रो घरमै । असारको महिना थियो । जताततै हिलैहिलो । गाईगोठमा सोत्तर बिछ्याएर घरको परिसरमा आइपुगेको केही समयमा नै मैले जेठो छोरा को जन्म दिएको थिएँ । यो २०३८ साल असार २२ गतेको कुरा हो । घरमा पहिलो सन्तान जन्मिएकोमा सबै जना अति हर्षित थिए । म पनि छोराको कलिलो मुहारमा चुम्दै आफ्नो प्रसव पिडालाई भुल्दै गएँ । मेरो श्रीमानमा अर्थात छोराको बाबामा पनि नयाँ पहिचान थपिएकोमा खुशीको सिमा नै थिएन । हजुरबुबा हजुरआमाको पहिलो नाति । सबैको आँखाको तारा थियो कुमार । जोषितिले चिना बनाउँदा भन्नु भएको थियो "कुमार सम्पूर्ण परिवारको पालनपोषण गर्न सक्षम हुनेछ । सबैलाई मान गर्नेछ । ऊ आफ्नै नेतृत्वमा काम गर्न रुचाउँनेछ । अरुको मातहतमा बसेर काम गर्न सक्दैन । ऊ सिंह रासीको भएकोले स्वभाव पनि सिंह जस्तै हुनेछ ।" जोतिषीको यस्तो कुराले मन अति हर्षित हुन्थ्यो । साँच्चै उसको स्वभाव पनि त्यस्तै थियो निडर ।

कुमार जन्मेको तीन बर्षपछि दोस्रो छोराको रुपमा बलराम जन्मियो । पुष महिनाको चिसो धान्यपुर्णिमाको दिन बलरामले मेरो कोखबाट जन्म लियो । दुई छोराको स्याहार गर्दै गाईगोठमा जाँदै-आउँदै मैले जिन्दगीमा धेरै सपनाहरु बुन्दै गएँ । मेरा छोराहरुको काखमा सुखको जीवन बाँच्ने भविस्यको कल्पनामा दिनहरु काट्दै गएँ । छोराहरु हुर्कँदै गए । त्यसैगरि तेस्रो सन्तान छोरी सरस्वती जन्मि र अन्तिम सन्तानको रुपमा छोरा कृष्ण जन्मियो । आर्थिक अबस्था कमजोर भएककोले बाबा दिनभरी काममा घोटिनु हुन्थ्यो । म गाई पाल्थेँ । ससुराबुबा, सासुआमा नातीनातिनीहरुको स्याहार गर्नु हुन्थ्यो । दुःखले चलेको परिवार भएपनि हामीमा संतुष्टी थियो । हाम्रो संतानको मुहारमा देखिने मुस्कानले हामीलाई संघर्ष गर्न हिम्मत प्रदान गरिरहेको थियो । आफूलाई भाग्यमानी सम्झँन्थे म ।

जेठो कुमारले सरकारी स्कूलमा पढ्न थाल्यो । ऊ अति मिलनसार थियो । भाईबहिनीलाई धेरै माया गर्थ्यो । असाध्यै ज्ञानी छोरो थियो कुमार । मलाई घरको काममा सघाउँथ्यो । खाना पकाउँन, भाईबहिनीलाई खुवाउँने, कपडा लगाइदिने, स्कूल पुर्याउँने, ल्याउँने काममा कुमार मलाई असाध्यै नै सहयोग गर्थ्यो । ऊ मेरो लागि उज्यालो प्रकाश थियो । ऊ जहाँ हुन्छ त्यो ठाउँ नै मेरो लागि स्वर्ग जस्तो लाग्थ्यो । पुजा कोठामा छ भने उसैले प्रकाश छरिरहेछ जस्तो लाग्थ्यो । कुमार अगाडी रहुन्जेल मलाई भोक प्यास केही पनि लाग्दैन थियो । त्यसै सन्तुष्ट हुन्थेँ म । बाबासँग पनि छोरा भन्दा बढी साथीको रुपमा प्रस्तुत हुन्थ्यो ऊ । पहिलो सन्तान अनि सानै उमेरमा पनि जन्मिएको ले बाबा-छोरा पनि साथी-साथी जस्तै थिए । पढाई अगाडि बढाउँदै कुमारले पर्यटन ब्याबसाय तिर आफूलाई लगाउँने निर्णय गर्यो । उसले कलिलो उमेरमै बाबालाई काममा सहयोग गर्दै परिवारको खर्च चलाउँन मद्दत गर्न थाल्यो । पर्यटन ब्यवसायमा रुची भएको कुमारले आफ्नै पहलमा "सुवान चि ट्राभल्स एण्ड टुर्स" को स्थापना गरि प्र.निर्देशक भयो । यसबाट उसले छिट्टै सफलता कमायो । भाइबहिनीलाई पढाउँन उसैले खर्च गर्न थाल्यो । यसै क्रममा सन् २००४ मा भाई बलरामलाई अमेरिका पढ्न पठाउँने निर्णय भयो । दश लाख रुपैया ऋण खोजेर भाईलाई पढ्न पठायो । दादाको काखमा खेलीरहने भएकोले भाईबहिनी पनि कुमार भनेपछि हुरुक्क हुन्थे । बलराम अमेरीका गएपछी केही समय सबै जना नियाउरो भए । बचेरा बिनाको गुण जस्तै भयो हाम्रो परिवार । तर ऊ पढ्न गएको थियो । हामी सबैले चित्त बुझायौँ । फेरी काममा फर्कियौँ ।

दिनहरु बित्तै गए । कुमार अब हाम्रो अभिभावक बन्न थाल्यो । ऊ अति सोचेर काम गर्थ्यो । हाम्रो घर पुरानो थियो । काठमाडौँमा आकाशीँदै गरेको आधुनिक घरहरुले हाम्रो घरलाई छोप्दै थियो । तर कुमार बारम्बार भन्ने गर्थ्यो "हामीलाई घर चाहिँदैन । किन चाहियो र । हामी जस्तो ठाउँमा बसेपनि खुशी सँग बाँच्न सक्छौँ । आमा ! दुःखमा कहिले पनि नआत्तिनु होला र सुख पाएँ भनेर पनि नफुर्किनु होला ।" उसको यो भनाइले मनमा कति धेरै खुशी उम्रन्थ्यो । यस्ता छोराको काखमा बाँचुन्जेल हामीलाई केही पनि चाहिन्न । मनमनै खुशी हुन्थेँ म । काखमा सुताउँदै उसको शिरमा हात राखेर भन्थेँ म " कुमार हाम्रो घर भनेको तिमी हौ । भाई बहिनी हुन । जबसम्म तिमीहरु हाम्रो साथ छौ हामीलाई किन अर्को घर चाहियो र । बस तिमीहरु खुशी रहनु हामी उसै खुशी हुनेछौँ ।" यसरी नै हाम्रो सुखी संसार चल्दैथियो । २०६५ सालसम्म मैले हाम्रो जिन्दगीमा पनि दुखको दिन आउला भनेर सोचेको थिएन । तर सोच्दै नसोचेको पनि हुँदो रहेछ । एकै पटक आकाश खसेर थिच्यो हामीलाई । हाम्रो बस्ती उजाडि दियो । हाम्रो सपना उडाइ दियो ।

गीत- जिन्दगी यो फूलैफूलको थुंगो हुँदैन.....

फोनको घण्टी बज्दा पनि झसंग हुन्छु हिजोआज । यो फोनको घण्टीबाट आतंकित भएका छौँ हामी । सन् २००८ डिसेम्बर २९ तारिकको रात १० बजे यस्तै फोन आयो । मेरो कलेजीको टुक्रा, जेठो छोरा कुमारको बाइक दुर्घटना भएछ । उसका बाबा आत्तिँदै हिड्न लाग्नु भयो । मैले सोधेँ के भएको भनेर । उहाँले आत्तिएको स्वरमा भन्नु भयो "छोराको खुट्टा भाँचिएको छ रे । म अस्पताल जान्छु ।" यो खबरले मेरो पैताला भासियो । म उभिन पनि नसक्ने भएँ । मेरो बाबुलाई कति दुख्यो होला भन्दै म रुन लागेँ । त्यतिबेला मेरो वरिपरि बृद्धहुनु भएका ससुराबुबा, सासु-आमा छोरी स्वती र कान्छु छोरो वरिपरि थिए । बाबासँग कान्छु मात्र जाने भयो । मैले पनि जान जोड गरेँ । कतिबेला देख्नु छोरालाई जस्तो भयो । उहाँको बाइक तिलगंगा तिर हुइकियो । हामी भित्र त पस्यौँ तर अन्धकार रातमा झन सन्नाटा छाउँन लाग्यो । आँखा अगाडि उही सानो बालक नाच्न थाल्यो । खिस्स हाँस्थ्यो, च्यार्र रुन्थ्यो । हाम्रो पहिलो सन्तान कुमार ।पहिलो नाति - हजुरबाबा-हजुरआमाको पनि असाध्यै प्यारो थियो कुमार ।  भर्खर चिनबाट फर्किएको मेरो छोरा, साथीहरुसँग अलि समय बिताउँछु भनेर ढिलो सम्म बस्यो बाहिर । आजै उसलाई यस्तो हुनु रैछ । मलाई मन थामिन गारो हुन लाग्यो । हामी छट्पट्टीमा समय काट्दै गयौँ । फोन आउला कि ! कुमारलाई लिएर बाबा, कान्छु आउलान कि भनेर कुर्न लाग्यौ । पलपल काट्न मुस्किल भयो त्यतिबेला ।

कुमारको बाबा घर फर्किनु भयो । उहाँको अनुहारमा असाध्यै पिडा थियो । "खै त कुमार ? के भएछ ? किन नलिई आउँनु भएको ?" मैले धेरै प्रश्नहरु एकैपटक तेर्स्याएँ । तर उहाँले अहिले पनि भन्नु भयो "खुट्टा भाँचिएछ । म अस्पताल लिएर जान्छु अब ।" यति भनेर उहाँले भान्जालाई भाईलाई बोलाउँनु भयो । भाइको गाडीमा उहाँहरु फेरी जानु भयो । मनमा नाना थरिका कुराहरु खेलीरहे । कति दुखेको होला मेरो मुटुको टुक्रालाई, त्यो दुखाईले म पनि दुख्न थालेँ । कतिबेला आउला छोरो र छात्तीमा टाँसेर उसको दुखिरहेको घाउमा सुम्सुम्याउँला भन्दै ढोका तिर हेरेर बसिरह्यौँ । आफन्तहरु बिस्तारै घरमा आउँन थाले । सबै जनाको अनुहारमा मलिनता छाएको थियो । निकै रात बितिसके पछि कुमारका बाबा घर आउँनु भयो । सबै जना घर आए । आफन्त नाता गोता घरभरि भए । तर मैले प्रतिक्षा गरेको मेरो कुमार अझै आएन । सोचेँ उसलाई अस्पताल नै राख्नु परेछ क्यार । "बाबा कुमार खै त ? के निकै ठूलो चोट लागेछ बाबुलाई ? किन नलिई आउँनु भएको ? भन्नुस न कत्रो चोट लागेको छ कुमारलाई ? कहिले आउँछ ऊ घर ?" म अत्तालिँदै सोध्न थालेँ । उहाँ केही बोल्न सक्नु भएन । मात्र मलाई कोठामा लिएर जानु भयो । मन असाध्यै डराएको थियो । उहाँले मलाई आफ्नो छात्तिमा टाँस्नु भयो । जोडले टाँस्दै भन्नु भयो " नानु ! अब हाम्रो कुमार हामी सामु छैन । उसले हामी सबैलाई छोडेर गयो । यो दुखद घडिमा हामीले आत्तिनु हुन्न है । मलाई हिम्मत देऊ तिमीले" उहाँको स्वर असाध्यै भासिएको थियो । म रन्थनिएँ । भैँमा बसेँ । उहाँले उठाउँनु भयो । बेडमा राख्नु भयो । उहाँको अनुहारमा हेरेँ । अब कसरी सहने यो । उहाँलाई हेर्दै मेरो मन भक्कान्निएर आयो । उहाँले झन जोडसँग मलाई छात्तिमा टाँस्नु भयो । एक छिन त लाग्यो म पनि मरुँ । यसै पल मरुँ । फेरी मैले अरुलाई सम्झेँ । उहाँलाई सम्झेँ । कसरी फर्किएर आउँनु भयो उहाँ ! आफ्नो त्यति प्यारो छोरा, आफ्नो आत्मिय साथीलाई मृत्य अबस्थामा देख्दा कस्तो भयो होला उहाँलाई ! तत्काल सोचेँ अरुको लागि पनि हिम्मत हार्नु हुँदैन मैले । "बाबा ! के भएको रहेछ ? कसरी दुर्घटना भएछ ? अनि बलरामलाई कसरी भन्ने अब ?" उहाँ एकछिन केही बोल्न सक्नु भएन । "संचारग्राम अगाडि उतिबेला नै गएछ । बाइक तिब्र गतिमा थियो रे । पोलमा ठोकिएछ अर्को तिरबाट आएको गाडीको हेडलाइट आँखामा परेर बाटो देखेन । त्यसैले दुर्घटना भयो । शिक्षण अस्पताल पुर्याएर आएँ ।" यति भन्दै उहाँ बढी बोल्न सक्नु भएन । मलाई सपना जस्तो लाग्न थाल्यो । बारम्बार मेरो कुमारको तस्बिर नाँच्न थाच्यो वरिपरि । बिहान सम्म मेरो अंगालोमा रहेको मेरो छोरो कुमार अहिले तस्विरमा मात्र छ । "कुमार ! मेरो मुटु ! तिमीले किन हामीलाई छोडेर गयौँ ?" म डाँको छोडेर रुन लागेँ । बाबा मलाई सम्झाउँन थाल्नु भयो । तर जति रोएपनि, जति कराए पनि ऊ फर्किएर आउँने छैन । आफ्नो मन आफैँ बुझाउँन थालेँ । रुँदा-रुँदै रात बित्यो । भोलिपल्ट छोराको अन्तिम दाहसंस्कार भयो । मलाई त मेरो कलेजीको टुक्रा, मेरो कुमारको लास हेर्न सम्म पनि दिएनन् । पारी घाटमा मेरो मुटुमा आगो लाग्दा वारी घरको कोठामा मुर्छित भएर ढलिरहेँ म ।

गीत- नस्वर तिम्रो तस्वीरमा आज....

त्यसपछीका दिनहरुमा बलराम मलाई बारम्बार फोन गर्न थाल्यो । ऊ भन्थ्यो "आमा म छु नि । दाई छैन नभन्ठान्नु होस् । दाईको सम्झना आउँने बित्तिक्कै मलाई फोन गर्नु होस । दाईको ठाउँमा म हुँनेछु आमा । दाईले दिने माया पनि म दिनेछु । मलाई पनि यहाँ बस्न गारो भैरहेको छ । कति बेला घर आउँ जस्तो भएको छ । कति बेला भेटुँ जस्तो भएको छ तपाईँलाई, बाबालाई, सरस्वतीलाई, कान्छुलाई, हजुरबाबा-हजुरआमालाई !  म फर्किएर आउँ त ? मलाई त यति बेलै आउँ जस्तो लागिरहेछ । भन्नुस न म के गरुँ ।" उ यसै भन्थ्यो । उसले दिने मायामा अब झन दुगुना भएको थियो । उसको पढाई अन्तिम अबस्थामा पुगेको थियो । कति दुःख गरि पठाएको पढ्न । कुमारले कति रहर गरेर पढाएको भाई । उसलाई बिचैमा पढाई छोडेर आइज भन्न पनि कसरि सक्थेँ र । उसलाई सम्झाएँ । पढाई सकेर मात्र आउ छोरा भनेँ । ऊ भन्थ्यो "आमा तपाईँले पिर नमानी, नरोई बस्नु भयो भने मात्र म यहाँ बसेर पढ्न सक्छु । के तपाईँ मलाई सम्झेर नरोइ बस्न सक्नु हुन्छ ?" उसले यसो भन्दा झन भक्नान्निएर आउँथ्यो मन । मैले हिम्मत हार्नु हुन्नथ्यो । उसलाई सम्झाउँनु थियो । मेरो साहारा मेरो बलरामलाई सम्हाल्नु थियो मैले । ऊ निकै राम्रो पढ्थ्यो । सन् २००४ जुलाई ३० मा अमेरिका गएको बलरामले ओक्लोहमा स्थित  नर्थ वेस्टर्न ओक्लोहमा स्टेट युनिभर्सिटीबाट उपराष्ट्रपति सम्मान, राष्ट्रपति सम्मान पाईसकेको थियो । उसको यो सफलतामा दाजु कुमार, बहिनी सरस्वती, भाई कान्छु अनि बाबा म सबैजना आसाध्यै खुशी थियौँ । २००८ मा युनिभर्सिटी टप गरेर गणित बिषयमा बर्ष बिद्यार्थी भएको थियो । यस्तो मेरो छोरालाई दुःखको सागरमा डुबाएर घर फर्क भन्न पनि त सक्दिनथेँ म । उसैको प्रतिक्षामा उसलाई हौसला थप्दै बाँचिरहेँ । मेरो बलराम आउँछ अनि कुमारको पनि न्यास्रो मेटाउँने छु भन्ने आशामा म बाँचिरहे । यसै क्रममा सन् २००९ मा बलरामले आउटस्ट्यानडिंग सिनियर अवार्ड पनि जित्यो रे । म खुशीले गदगद भएँ । ऊ दिनमा तीन चार पटक सम्म फोन गर्थ्यो । आमा पीर नमान्नु नरुनु है भनि रहन्थ्यो । उसले यस्तो भन्दा कुमारलाई सम्झँन्थेँ । अनि एक्लै-एक्लै बर्बराउँथेँ । अरुको सामु आँशु लुकाएपनि एक्लो हुँदा मन बुझाउँन निकै गारो हुन्थ्यो । तैपनि कोसिस गरिरहेँ ।

कुमारले हामीलाई छोडेर गएको नौ महिना बितिसकेछ । असोज महिना । दशै हाम्रो लागि पिडाले भरिएको थियो । हामी दुखिहरेका थियौँ । अघिल्लो दशैँमा कुमारले यस्तो गर्थ्यो, उस्तो गर्थ्यौ भन्दै उसैको सम्झनामा डुबिरहेका थियौँ । आँशु र यादमा डुबेर नै बित्यो हाम्रो दशैँ । बलरामले भन्ने गर्थ्यो आमा अर्को दशैँमा त हामी सँगै हुनेछौँ । उसको पढाई सक्किसकेको थियो । पढाई सकिने बित्तिकै ऊ घर आउँन चाहन्थ्यो । फेरी उसैले सोच्यो पढ्न लिएको ऋण पनि तिर्न सकेका थिएनौँ हामीले । त्यसैले केही समय छ-आठ महिना काम गरेर फर्कने बिचार भयो उसको । हामीले पनि हुन्छ भन्यौ । त्यसपछि ऊ अमेरिको ओक्लोहमा स्थित उडवार्ड रिजनल हस्पिटलमा आई टि सिस्टम एडमीनीस्ट्रेटरको पदमा काम गरिरहेको थियो ।  कोजाग्रत पूर्णिमाको राती सन् २००९ अक्टोबर ३ मा फेरी हाम्रो घरमा अर्को फोन आयो । एउटा विपतले घाइते भएका हामी सबैको साहारा बलराम ! दादा गएपनि मलाई पाल्छु भन्ने मेरो मुटु, सदैब शान्त रहने, सदैब मुस्कुराई रहेन मेरो हृदय, मेरो धड्कन, मेरो जिन्दगी मेरो बलराम ! उसले पनि हामी सबैलाई छोडेर अमेरिका बाट नै बिदा लियो रे ! त्यो पराइको भूमिमा आफैँले चलाएको कार दुर्घटनामा परि हामीबाट टाढा दादासँगै गयो रे !

गीत- बलेको जीवन ज्योति यो ....

हामीलाई फोन आउँनु भन्दा पनि दश घण्टा अगाडिन नै उसको दुर्घटनामा परि मृत्यु भैसकेको रहेछ । हामीलाई कसैले पनि भन्ने हिम्मत गरेनछन् । तर नभनि बस्ने कुरा थिएन यो । अन्तत फोन आयो । हाम्रो जिन्दगीलाई तहसनहस पार्दै ।  मलाई पत्यारै लागेन । मेरो छोरो मेरो साहारा फेरी फोन गर्ला जस्तो लाग्छ । "आमा म छु नि" भन्ला जस्तो लाग्छ । आशा लाग्छ उ आउँछ । मेरो मनले मान्दैन बलराम पनि छैन भन्ने कुरा । तर वास्तबिकता यस्तै छ । हाम्रो जहाजै डुब्यो । संसारै डुब्यो । हामी गहिरो सागरमा भासियौँ । कसलाई सम्हाल्ने, कसलाई सम्झाउँने । ८४ बर्षिय हजुरबाबा कान सुन्नु हुन्न, ७८ बर्षिय हजुरआमा दुबै आँशुमा डुब्नु भएको छ । साँझ बिहान निस्कने बेला " के छ ओल्ड हाइन्सम्, ओल्ड बिउटी हालखबर ठीक छ ? तपाईँहरुको बिहे गरिदिउँ कि क्या हो भन्दै हजुरबाबा, हजुरआमाको गालामा मुसार्ने कुमार, बलराम दुबैले छोडेर जाँदा उहाँहरुलाई कति गारो भएको होला । आफ्ना छोरालाई सन्तान भन्दा पनि साथी सम्झने, उनीहरु बिना एक्लै एकपल पनि बस्न नसक्ने बाबालाई यो विछोड सहनु पर्दा कति कठिन भएको होला । भित्रभित्रै दुखेर छट्पट्टीमा बाँच्दै हुनुहुन्छ बाबा । उहाँ त हाम्रो अगाडि रुन पनि सक्नु हुन्न । हामीसबैलाई सम्हाल्नु छ उहाँले । दादाहरु भनेपछि संसारै बिर्षने, दादाकै काखमा हुर्केका बहिनी, भाई उनीहरुलाई कति पिडा भएको होला । म आमा । सबैको पिडामा दुख्नु सिवाय अरु के नै गर्न सक्छु र । उफ ! नियतिले दिएको यो चोट !!! कहिले काहीँ छोराका साथीहरुले फोन गर्छन् । त्यतिबेला त मुर्छित हुन्छु म । मेरो बाबुले पनि फोन गर्छ गर्छ जस्तो लाग्छ । तर खै कहिले पनि गर्दैन । कहिलेकाहीँ सोच्छु यति सारै सहेर पनि बाँच्नु पर्ने रहेछ । खानै पर्ने रहेछ । मर्न पनि सक्थेँ होला । सोच्छु दईवटा मृत्युले सताएको मेरो परिवारको हालत के होला ...! परिवारकै मुख हेरेर बाँच्ने कोसिस गरिरहेको छु ।

हाम्रो बाँच्ने आधार अब केही रहेन । के गरेर बाँच्ने ! के का लागि बाँच्ने ! सधैँ भरि यो पिडाको सागरमा रुमल्लिएर कसरी बाँच्न सकिएला ! गन्तब्य बिर्षिएर टोलाईरहेको बिचबाटोको यात्री जस्तै हामी अलपत्र पर्यो । हाम्रो लक्ष्य, चाहनाहरु सबै आफसेआफ हराएर गए । यसैबेला बलरामको १३ दिनको पुन्यतिथिमा मेरा बाँकी परिवार भाइ भतिजा, भान्जा आफन्तहरु सबैजनाले  सल्लाह गर्नु भयो । अब उनै छोराहरुको सपना पुरा गरेर आफ्नो बाँकी जीवन बिताउँनु पर्छ भन्ने । कुमार बलराम दुबै छोराहरु समाजसेवामा धेरै रुची राख्थे । बारम्बार भन्थे "समाजमा परिवर्तन ल्याउँने हामीले हो । हामीले नगरे कस्ले गर्छ । परिवर्तनको पहिलो शुरुवात भनेको मानिसहरुलाई शिक्षित बनाउँनु हो । जब मानिसमा चेतनाको स्तर बढ्दै जान्छ, आफ्नो जीवन कसरी बाँच्नु पर्छ भन्ने कुरा उसले सिक्छ । एउटा मानिसमा बिकास हुनु भनेको गाउँमा बिकासको शुरुवात हुनु हो । एक पछि अर्को सिको गर्दै पनि मानिसहरु प्रगतीपथमा लम्किनेछन् ।" कुमार र बाबा सँधै यस्तै बिषयमा छलफल गरिरहन्थे । यसै क्रममा कुमारले काठमाडौँ, चितवन र काभ्रे पलान्जोक जिल्ला अन्तर्गत बिभिन्न ठाउँमा रहेको सामुदायीक बिद्यालयमा अध्यानरत बिद्यार्थीहरुलाई छात्रा बृति दिने, शैक्षिक सामाग्री उपलब्ध गराउँने जस्ता कामहरु गर्दै आएको थियो । अनाथ बालबालिकालाई पनि उसले सहयोग गर्दै आएको थियो । उसले सुरुवात गरेको यहि समाजसेवाको कामलाई संस्थागत रुपमा अगाडि बढाउँने निर्णय भयो हाम्रो परिवारमा । सबैजनाले आमाको मनलाई सन्त्वना दिनको लागि संस्थाको नाम मेरै नामबाट राख्ने निर्णय गर्नु भयो । यसरी जन्मियो लक्ष्मी प्रतिष्ठान । यो मेरा छोराहरुको सम्झनामा श्रद्धान्जली स्वरुप स्थापना गरिएको प्रतिष्ठान हो । यो मेरो दुई होनहार छोराहरु कुमार र बलरामको पूनर्जन्मको रुपमा स्थापना गरिएको प्रतिष्ठान हो । कुमारको बर्षिक तिथिको दिन लक्ष्मी प्रतिष्ठानको बिधिवत रुपमा सुरुवात गरियो । आफैँ सँग भएको पाँच लाख रुपैया जम्मा गरेर हामीले प्रतिष्ठानको शुरुवात गर्यो । त्यसपछि बिस्तारै हाम्रो परिवार नाता गोता आफन्त सबैजनाले सहयोग गर्दै जानु भयो । हामीले २०६६ पौष २ गते देखि  उनीहरुकै श्रद्धान्जली स्वरुप स्थापना गरिएको प्रतिष्ठान मार्फत यो धर्तीका काखमा हुर्किँदै गरेका हजारौँ छोराछोरीको आँखामा हाम्रा छोराहरु कुमार र बलरामलाई खोजिरहेको छौँ । उनीहरुलाई सक्षम बनाएर छोराहरुले गर्न बाँकी काम सुम्पने आशामा बाँचिरहेका छौँ । कर्ममा लागिरहेका छौँ । हामी एक्लैले संचालन गरेको यो प्रतिष्ठानमा सहयोगी हातहरु पनि बढ्दैछन् । छोराका साथीहरु, अन्य सहयोगी साथीहरु सबैजनाको सहयोगमा हामीले शुरुवातका केही पाइलाहरु चालिरहेका छौँ ।  

आज बुझ्दैछु मृत्यु जन्म पछिको साश्वत सत्य हो । हामीले आफ्नो-आफ्नो दिन बाँच्नु पर्छ । छोराहरुले उनीहरुले लिएर आएका दिनहरु बाँचेर गए । हामीले आफ्नो दिन आएपछि जानु पर्छ । हामीले जिन्दगीलाई एउटा पाटोबाट मात्र हेर्नु नहुने रहेछ । सधैँ भरि सुख-खुशीमात्र जिन्दगी हुँदैन रहेछ । दुख-सुख दुबै जिन्दगीका पाटाहरु रहेछन् । दुख पछिको सुख भन्दा सुख पछीको दुःख सहन निकै गरो हुँदो रहेछ तर सहनु को बिकल्प पनि त रहेनछ ।

गीत- यति रित्तो र सुन्य भएछ यो संसार केबल तिमी एउटा मसँग नहुँदा ....

खासै दुःखमा नपर्नु भएका कुमार-बलरामका बाबा "बिष्णु गौतम" आज पसिना बगाउँदै गाउँ बस्तीमा डुलिरहनु हुन्छ । स्कूल-स्कूलमा पुगेर स-साना नानीहरुको आँखामा आफ्ना छोराहरु खोज्नु हुन्छ । उनीहरुको फाटेको आङ टाल्दै, किताब-कापी-कलम दिँदै पढ्न हौसला दिँदै आफ्ना छोराको सपना पुरा हुने आशामा कुदिरहनु भएको छ । कतै स्कूल बनाउँदै, कतै पुस्तकालय बनाउँदै, कतै स्कूलका स-साना नानीहरुको लागी कोसौँ टाढाबाट खानेपानी ल्याउँदै आफ्ना शुरुवातका दिनहरु काट्दै हुनुहुन्छ । समाजमा पनि विभिन्न सिपमुलक तालिमहरु दिँदै, शिक्षामा सुधार ल्याउँनको लागि ग्रामिण महिलाहरुलाई प्रौढशिक्षाका कक्षाहरु संचालन गर्दै सबैको अनुहारमा खुशीको रेखा कोर्न लाग्दै हुनुहुन्छ । मलाई समेत आफ्नो बाइकको पछाडी बोकेर गाउँ-गाउँ पुग्नु हुन्छ । आँखा सिबिर, स्वस्थ्य सिबिर जस्ता कार्यक्रामहरु मार्फत गाउँघरमा जनस्वास्थको चेतना फैलाउँने काम गर्दै हुनुहुन्छ । आफ्नो गाउँ आफैँ बनाउँ भन्ने सोचका साथ गाउँघरमा टोलसुधार देखि लिएर ब्याबसयीक तालिमहरु पनि दिँदै हुनुहुन्छ । बाख्रा पालन, कुखुरा, बुंगुर, माछा पालन गर्ने तालिम तथा सबुन, मैनबत्ति ,चाउचाउ बनाउँने छालाका सामानहरु बनाउँने, हस्तकलाका तालिमहरु दिँदै समाजमा मानिसहरुलाई परनिर्भर हुनबाट बचाउँदै हुनुहुन्छ । काठमाडौँ, नुवाकोट, काभ्रेपलञ्चोक, मोरंग, सिन्धुपाल्चोक, डोटी, कन्चनपुर, म्याग्दी आदि जिल्लाहरुमा कार्यक्रमहरु संचालन भैरहेका छन् ।

विभिन्न ठाउँमा रहेका अनाथ बालबालिकाहरुको लागि खाना, लत्ता कपडा, किताब-कापी सहयोग गर्दै जाँदा यस्तो लाग्छ मैले मेरा दुई छोरा गुमाएर हजारौँ छोराछोरी पाएको छु । यिनीहरुको निरन्तर सहयोग गर्न सकुँ । यिनीहरुलाई योग्य नागरिक बनाएर मेरा दुई छोराको बाँकी सपना पुरा गर्ने जिम्बेवारी सुम्पन सकुँ । तर यो काम सजिलो छैन । हामीलाई धेरै आर्थिक सहयोगको खाँचो छ । हामीसँग भएको सबै जसो पैसाहरु खर्च गरिसक्यौँ । अब हाम्रो प्रतिष्ठानको लागि सहयोगी हातहरुको खाँचो छ । हामीलाई तपाईँहरुको सहयोगको खाँचो छ । तपाईँहरुको साथको खाँचो छ । म एउटी आमा आँशुलाई पुछेर, चोइटिएको मुटुलाई सम्हाल्दै संघर्षको बाटोबाट अघि बढ्ने हिम्मत गर्दैछु । रुँदा म एक्लै रुनेछु । कमजोर हुनेछु । तर मैले यो संघर्षको बाटोमा हजारौँ मुस्कानहरु देखेको छु । यो मुस्कानले मलाई सन्तुष्टी दिन्छ । मेरो छोराहरुले मुस्कुराइरहेको आभास हुन्छ । कतै यि मुस्कानहरुलाई बिचमै रोक्नु पर्ने त हैन मन ससंकित हुन्छ । फेरी सोच्छु यो दुनियामा सहयोगी हातहरुको पनि कमी छैनन् । हामीले हाम्रो यात्रालाई बिचमा नै रोक्नु पर्ने छैन ।



अपाङ्ग बाबुआमाका सन्ताहरुलाई छात्राबृति दिँदै सहयोग गर्दै आँशु पुछ्दै छौँ । मृगौला रोगीलाई आर्थिक सहयोग गर्दै पुनर्जन्मको लागि शुभकामना दिँदै छौँ। चालीस बर्षदेखी आपङ्ग छोरीहरु पाल्दै आएका म्याग्दीका एक बाबुआमालाई हामीले आर्थिक सहयोग गरिरहेका छौँ । कसैको लागि रगत जुटाउँदै, कसैको लागि सहयोग जुटाउँदै जे परि आयो त्यही काम गर्दै अगाडि बढ्दै छौँ हामी । दुर्घटनामा परि कसैले यस्तो विपत सहनु नपरोस भनेर ट्राफिक शिक्षा सम्बन्धि कार्यक्रम पनि कलेजहरुमा गर्दै आएका छौँ । हामी कामना गर्छौ कुनै पनि बाबाआमाले हाम्रो जस्तो विपत सहनु नपरोस । कसैलाई पनि यस्तो दिन नआवस । आपतबिपतको बेला सबैलाई साथ दिन सकियोस ।

जिन्दगी यस्तै छ । हौसला थप्छु अघि बढ्नको लागि अरुहरुलाई । यसैले तपाईँ सहयोगी हातहरुलाई अनुरोध गर्न चाहन्छु "आउनुहोस हामी हातेमालो गरौँ । हाम्रो थोरै सहयोगले पनि हजारौँ नानीहरुको लागि योग्य भविष्य बनाउँन सकिन्छ । देशको लागि योग्य नागरिक जन्माउँन सकिन्छ । आउँनुहोस हामी सबै मिलेर सार्थक जिवन बाँचौँ । जिवन र जगतको वास्तबिकतालाई बुझ्दै अगाडि बढौँ । सभ्य समाज निर्माणको लागि लामबद्ध हौँ । यो हाम्रो दायित्व पनि हो । आखिर हाम्रो जिवनको सबैभन्दा ठूलो कमाई भनेको आत्मसन्तुष्टी रहेछ । जुन अरुको खुशीमा मात्र प्राप्त गर्न सक्छौँ ।"

जिन्दगी जस्तो पनि जिउँनु रैछ । आँधीहुरीलाई सहेर पनि मुस्कुराउँनु रैछ । आफ्नै घरको छतमा नियतीको बिशाल चट्याङ्ग खस्यो । एउ टा सुन्दर हाम्रो संसारलाई उथलपुथल बनाइदियो । पुरै ग्रहण लाग्यो । अन्धकार बनाइदियो । हाम्रो अमुल्य रत्न हामीबाट खोसेर हामीलाई अपाङ्ग बनाइदियो । हाम्रो सहयात्री, अभिभावक, हाम्रो मुटुको टुक्रालाई हामीबाट टाढा बनाएर हामीलाई टुहुरो बनाइदियो ।  कस्ले देखेको थियो र यस्तो पनि हुन्छ भन्ने कुरा ! फेरी पनि आज बाँचिरहेको छु पलपल मरेर । त्यसैले लाग्छ जिन्दगी बाँच्नु हैछ । मात्र बाँचीरहेको छु म लक्ष्मी गौतम ।

गीत- ए फूल मलाई सिकाई दे बाँच्न ...

"समाप्त"

 नोट: आदरणीय साथीहरु यो कथा वास्तविक घटनामा आधारित कथा हो । यो रेडियसिटी ९८.८ मार्फत जिन्दगीका आयामहरुमा रुपा बिमल ज्युले बाचन गरिसक्नु भएको छ । जुन यो लिंगमा सुन्न सक्नु हुन्छ http://www.laxmipratisthan.org/video.html  यो कथा लक्ष्मी गौतमलाई साछी राखेर लेखिएको हो । यो कथा पढिसकेपछि यदी तपाईँहरुलाई पनि लक्ष्मी प्रतिष्ठानको बारेमा जानकारी लिन मन लाग्यो भने http://www.laxmipratisthan.org.np/ मा हेर्नु होला । साथै यो कथाका लागि छानिएका गीतहरुका सर्जकहरु प्रति हार्दिक सम्मान प्रकट गर्न चाहन्छु ।

मधुश्री
कालिका-३ सिन्धुपाल्चोक
                               




1 comment:

  1. mero lagi prerana dayi paye ma pani mutu bhanda pyari kanchhi chhori ko shok ma dubera harpal rune garthe aba malai pani kehi garnu parne rahe chha bhanne gyan prapta bhayo .

    ReplyDelete