Tuesday, October 25, 2011

गीति संवाद


छोरी
एक्लो छैन अब म त संगी साथी पाएँ आमा
खुन रातो उमाल्ने यो यौटै जाती पाएँ आमा

आमा
यौद्धा तिमी यो युगको युद्ध आफैँ लड छोरी
रोक्दिन म तिम्रो बाटो लक्ष्य पुरा गर छोरी


छोरी
दुःख सुख बाड्न सक्छौँ हातेमालो गर्न सक्छौँ
भीर-पाखा लड्दै उठ्दै जंघार यो तर्न सक्छौँ
आपतमा साथ दिने न्यानो हात पाएँ आमा
खुन रातो उमाल्ने यो यौटै जाती पाएँ आमा

आमा
धेरै बगे अश्रुधारा पसिनाको के कुरा भो
तिम्रै खुशी भन्दै बित्यो जीवनको के कुरा भो
सही साथी संगी चिन्दै सँगै अघि बढ छोरी
यौद्धा तिमी यो युगको युद्ध आफैँ लड छोरी

छोरी
रंग उस्तै ढंग उस्तै लाल परिवार हामी
अन्यायको बिरुद्धमा जुट्ने सर्वहारा हामी
हाम्रो यौटै अस्तित्व छ यौटै लक्ष्य न्याय आमा
एक्लो छैन अब म त संगी साथी पाएँ आमा

आमा
जात एकै मानवको हुन्न अर्को धर्म पनि
बोली एकै लोली एकै, एकै नित्य कर्म पनि
भिन्न मात्र दुश्मनका रंग तिमी पढ छोरी
रोक्दिन म तिम्रो बाटो लक्ष्य पुरा गर छोरी


छोरी
बाटो भरी काँडा किला टेक्दै अघि बढ्छौँ हामी
दुश्मनका किल्ला तोड्दै त्यो शीखर चड्छौँ हामी
रोक्न सक्नै छैन अब सही यात्रा पाएँ आमा
एक्लो छैन अब म त संगी साथी पाएँ आमा

आमा
रोक्ने छैन आँशुले म छेक्नै छैन ममताले
साथ सँधै दिने छु म रंग्यौँनेछु अविरले
असमान धाँजाहरु खण्डहर पुर छोरी
रोक्दिन म तिम्रो बाटो लक्ष्य पुरा गर छोरी

छोरी
आमाहरु हिम्मतको साहसको प्रतिक भै
बाटो खुला गरिदिऊन् मेरी प्यारी आमाले झैँ
धन्य लाग्छ जीवन यो तिम्रो साथ पाएँ आमा
खुन रातो उमाल्ने यो यौटै जाती पाएँ आमा

आमा
बाबा तिम्रो दासी हुँदै ठड्याएको सामन्त यो
हाम्रै छात्ती माथि जग हाली उठ्या घमण्ड यो
युगौँ देखि चुलिएको पहाड यो फोड छोरी
यौद्धा तिमी यो युगको युद्ध आफैँ लड छोरी

मधुश्री
२१ माघ २०६६

1 comment:

  1. वाह दि साह्रै उत्कृष्ट छ । हजुरले देख्नुभएको सपना चाँडैभन्दा चाँडै पूरा होस् । यही छ भ्ँइको कामना । pagal yatree

    ReplyDelete