Saturday, October 15, 2011

चप्पलको महिमा



बंगला पस्यो चप्पल हिजो टुटेको तुना त्यो
गद्दामा बस्यो मोजमा फस्यो फेरियो पूर्ण त्यो
वर्गको नाम बेचेर घुम्यो देश र विदेश
नक्कल गर्यो ढुकुटी भर्यो रित्यायो स्वदेश


बिदेश घुमी देख्दछ शान्त समृद्ध समाज
जीवन दाँज्छ नेताको दुबै फेर्दछ ऊ लाज
देख्दैन त्यहाँ नियम कुनै कानुन पढ्दैन
जनता बिच छाएको शान्ति बास्ता नै गर्दैन

स्वदेश फर्की सपना बुन्छ त्यस्तो पो जीवन
कल्पना गर्छ साकार पार्छ धनको विमान
बिर्सन्छ गाउँ जनता सबै सम्झन्छ कुर्सी त्यो
जसरी खाउँ कमाउँ भन्छ लगौँछ घुर्की त्यो

मन्चमा फुक्छ माइक ठूलो सुनाई सन्देश
गर्नेछु काम जनता सम्झी फेर्नेछु यो देश
फेर्दछ गाडी, कोट र जुत्ता आँखाको चस्मा त्यो
देख्दछ चर्को घाममा खाल्डो सडक सम्म त्यो

जनता देख्छ भतिजा भाई साला र जेठान
बहिनी ज्वाई, सम्धिनी सम्धि उसैको खटन
भत्ता र लत्ता खुराकी उहीँ पोटिलो बन्दछ
महंगी बढ्छ बनौँछ बाध्य सामान्य भन्दछ

रोकिन्न कालो बजारी तन्त्र फस्टौँदै फुल्दछ
ओडाई छाता छोप्दछ आफू नाटक बुन्दछ
रिवन काट्छ छोडेर काम गफाडी खोक्दछ
पल्टिन्छ दिवा सपना देख्दै तस्करी बन्दछ

बोल्दछ मिठो बिकौँछ पिठो जनता बुझ्दैन
कानुनी राज्य सोझाको लागि देखेर देख्दैन
बोल्यो कि पोल्यो गरिब मर्छ तस्कर बज्दछ
बिलौँछ सत्य विवेक आफैँ ननिली पच्दछ

पागल देख्छ बहुला अरु सद्दे ऊ ठान्दछ
खेल्दछ पासा गरेर झेल जीत ऊ मान्दछ
सोझो त्यो ठिटो फेरिन्छ पुरै संस्कार फेर्दछ
पिजडा भित्र बाँच्दछ झुट शिरमा गिर्दछ

नक्कली दाँत देखौँछ फेरी मै ठूलो ठान्दछ
भरिया ज्यामी श्रमीक बर्ग मेरै हो भन्दछ
आँखामा छारो हाल्दछ फेरी छात्ती ऊ चिर्दछ
भुल्दछन् पिडा ती सोझा मान्छे अपाङ्ग फिर्दछन्

उसैको लागि लड्दछन् आफू मर्दछन् अकाल
फेरिन्न आश्था रोकिन्न यात्रा जतिनै धकाल
यिनैले पाल्छन् काटेर गाँस भ्रष्ट त्यो गद्दार
पुज्दछन् आफैँ उनेर माला सम्झन्छन् हक्दार

कहिले होला उघ्रिने पर्दा कुरुप मुहार
दियालो बाली चम्किने दिन सत्यको जुहार
खाडल खनी सुताई माटो पुरेर असत्य
कानुनी राज्य बनौँने क्यैले रोकिने यी हत्या ?!

नक्कली दाँत झारेर थोत्रा बनौँन हामीले
दिनुछ ज्ञान सत्यको यहाँ सेवाको कामले
जुट्नुछ सबै बिरुद्ध धोका गद्दार माफिया
लेख्नुछ नयाँ युग ए ! साथी मिलाई काफिया !!!

मधुश्री
२७ असोज २०६८

1 comment: