Tuesday, October 26, 2010

"मनको यात्रा"

कविता- "मनको यात्रा"




देश राम्रो भन्नु पनि आफू राम्रो हुनु रैछ
नयाँ जोस जाँगरमा परिश्रमी बन्नु रैछ
चुथ्थो सोच त्यागी थोरै आशा पाल्नु रैछ
मन्को कालो फ्याँकी नयाँ दियो बाल्नु रैछ

मागी खाने संस्कारले मगन्ते नै भयौँ हामी
दुबै आँखा साछि राखी दृष्टि बिना रह्यौँ हामी
कर्म बिना भाग्य रेखा हत्केलामा खोज्छौँ हामी
सुन टेकी माटोमाथि कल्पनामा उड्छौँ हामी

 
देश हाम्रो भन्नु पनि स्वदेशी नै हुनु रैछ
माटो छोई गर्वसँग आफैँ कर्म गर्नु रैछ
ज्योतिषिको भर छोडी भाग्य रेखा कोर्नु रैछ
जिन्दगीको क्यानाभास हत्केलामा भर्नु रैछ

पछि लाग्छौँ कुरौटेको कुरा रोपी कुरै खान्छौँ
दंग पर्दै टोलाउँदै महलमा तला थप्छौँ
भोको पेट हुँदा पनि अरु सामु डकार्दछौँ
झुटो बाँची जीवन यो सत्य बोल्न लजाउँछौँ

देश धनि हुनु पनि सबै धनि हुनु रैछ
सत्य धर्मि विवेकशिल स्वाभिमानी हुनु रैछ
रिसराग बैमानस्य आपसको त्याग्नु रैछ
मित्रभाव एकताको नयाँ पोयो थप्नु रैछ

ओत लाग्ने छाप्रो छैन महलका कुरा गर्छौँ
महलमा बस्छौँ कतै दरिद्रता देखाउँछौँ
कतै छैन शान्ति मन परेवाको उडान भर्छौँ
मठ मन्दिर मस्तिजमा शान्ति माग्दै पूजा गर्छौँ

देश शान्त हुन पनि मन शान्ति हुनु रैछ
धनि हुनु, सम्पन्नता मन धनि हुनु रैछ
पूजा थालि भन्दा राम्रो पौरखको दुनु रैछ
शान्ति हाम्रो जिवनको देशभक्त हुनु रैछ


मधुश्री
८ कात्तिक २०६७

1 comment:

  1. प्रत्येक शब्द शब्दहरुले मन छोयो दिज्यू। यो पढेपछि मेरो गजलको एक शेर लेख्न मनलाग्यो–
    भोकमा के सुन अनि जूनका कुरा गर्नु । आश हुन्छ बरु थोरै नूनका कुरा गर्नु । -pagal yatree

    ReplyDelete