Sunday, October 24, 2010

कविता –"झरेको फूल"

सन्नाटा छाइ सकेछ बेहोसी मैँ रहेछु म
भरोषा टुटी सकेछ आँसुमा डुबिरे'छु म
विस्वास गुमी सकेछ झरेछ फूल महिमा
बादल कालो रात्रिमा रोएछ बगी भइँमा

टिपेर फूल शिरमा गुराँस नैँ लगाएथेँ
भुलेर दुःख खुसिले रमाउदै गीत गाएथेँ
संसार प्यारो लाग्दथ्यो पवनसँगै उड्दथेँ
घुमेर स्वप्न गगन सुसेली हाल्दै नाच्दथेँ



भोक र प्यास बाँडेर सृजना नयाँ गर्दथेँ
हृदय भरि माया र आदर भाव भर्दथेँ
थिएन खोट मनमा बहार थियो खुशीको
छोएर शीत पातमा हुँदैथ्यो दिन रसिलो

मिर्मिरे बोल्थ्यो चरीले गोधूलि बज्थ्यो बाँसुरी
मख्मली फूल फूल्दथ्यो सम्झना भरी नझरी
यादले टप्प टिपेर उन्दथ्यो माला मनमा
खस्दथ्यो आँसु साँझमा कोईली रुँदा बनमा

रहेन आज उज्यालो अँध्यारो मै झरेछु म
छुटेछ हात बिचमा दोबाटो मै लडेछु म
बहेछ हावा उल्टेर पिडाले मिच्यो सपना
दिननै रात झैँ बन्यो रातले थिच्यो विपना

मधुश्री
१७ असोज २०६७

No comments:

Post a Comment