Wednesday, April 20, 2011

सम्वोधन

सम्बोधन
मेरो प्यारो मन !
सम्बोधन गर्दैछु तिमीलाई
बिज्ञप्ति निकाल्दैछु तिम्रो नाममा
तर खुशी छैन म
चाहना त छ रमाउँन दिउँ
तिम्रै दुनियाँमा ।

विवश छु बाध्यताले बाँधिएकोछु
पिँजडा भित्रछु नियम-कानुन, आश्था-लक्ष्यहरुको
काँधमा छ राज्य सञ्चालनको जिम्मेवारी
चलाउँनु छ विधिको शासन
सुन्नुछ असन्तुष्टहरुको आवाज
साथमा अग्रगमनको विशेष एजेण्डा
लक्ष्य प्राप्तिको लागि सचेत बन्नुछ
बनाउनुछ-आफू र आफ्नो राज्य संयन्त्रलाई

मेरो प्यारो मन !
थुप्रै उजरीका खात छ तिम्रो नाममा
ध्यान छैन काममा
डुल्छौ, भौँरातिन्छौ, छटपटाउँछौ
कुनै नसामा डुबेझैँ एकोहोरो बन्छौ
झट्ट रिसाउँछौ, दुख्छौ र दुखाउँछौ-बस्तीलाई
सुन्छु तिम्रो गति अनियन्त्रित बन्दैछ ।

मायाको कुण्ड तिमी घृणाको मुहान बन्दैछौ
अमरताको नमुना तिमी
आफ्नै अस्तित्व मेटाउने दौरानमा छौ
हैरान छन तिमीसँग सम्बन्ध गाँस्नेहरु
आरोप छ विनाकारण पिरोल्छौ मनहरुलाई
खेल्छौ निर्दोष मनहरुसँग !

मेरो प्यारो मन !
तिमी त छौ मैले आशा गर्न सक्ने
नसोच तिम्रो बिरुद्ध जाँदैछु
बुझेकोछु तिमीलाई
सुम्सुम्याएकोछु तिम्रो कोमलतालाई
मलम लगाएको छु तिम्रा चोटहरुमा
घायल छौ फेरी पनि
बलिदान हुन सक्छौ परिवर्तनको लागि
त्यो महान योद्धा तिमी कसरी अभियुक्त बन्न सक्छौ ?
अरुको मुस्कानसँगै आफ्ना दुःख बिर्सने तिमी
कसरी पिरोल्न सक्छौ बिनाकारण ?
बुझ्न कठिन छ तिम्रो स्वभाव !

तर आज बाध्यछु नबुझेझैँ गर्न
न्यायको कठघरामा उभिँदैछौ-अभियुक्त भएर
म सवाल गरिरहेको हुँनेछु- न्यायधीश भएर ।
कसरी सहन सकुँला यो दृश्य
मेरो अनुरोध फर्क आफ्नो स्थानमा
घात-प्रतिघातहरुले घायल छौ –सत्य हो
सम्झ दुख्नु तिम्रो जन्मसिद्ध अधिकार !

भयो गलत प्रयोग नगर स्वतन्त्रताको
आऊ नियम भित्र आश्था र लक्ष्यको पहाड चढ्न
सक्दिन म तिम्रा कोमल हातमा हत्कडी लगाउन
बरु आऊ मेरो अँगालोमा
मायाले सुम्सुम्याउँनेछु तिम्रा चोटहरुलाई
न्यानो स्पर्शले आराम दिनेछु
दर्दले क्षतविक्षत तिम्रा अंगहरुलाई ।

मेरो प्यारो मन !
तिमी त हौ मेरो आफ्नो भन्नु
कहाँ बाँकी रहला मेरो अस्तित्व
यसरी पराया बन्न थाल्यौ भने
कस्तो होला मेरो आश्थाको धरोहर
अनि लक्ष्य अग्रगमनको !

त्यसैले तिमीले सोच्नै पर्छ
दोबाटोमा बिचल्ली भएका मनहरुलाई
आशाको दियो बालेर उज्यालो पर्खिरहेका
अँध्यारो बस्तीहरुलाई, त्यो पाखा पखेरुलाई
ती चरा-चुरुङ्गीलाई, यो माटो, यो बाटोलाई
सुनौलो इतिहास रच्ने यो क्षेणमा
भौतारिनु हुन्न तिमीले, थाक्नु, दुख्नु हुन्न तिमीले
सबैको मनमा भरोषा उमार्दै
तिमी फेरी फर्किनु पर्छ –क्रान्ति भूमिमा !

मेरो प्यारो मन !
तिम्रो प्रतिक्षामा छु म
मलाई आशा छ
मैले औपचारिकता निभाउँनु पर्ने छैन
यो सम्बोधनको !!!!

मधुश्री
२७ फागुन २०६६

1 comment:

  1. Thuprai Mann haruko marma bokeko Mero Mann.... Sanchainai ati sundar chha. Ani yastai thuprai mann haru ekuta yastai kavitamayi mannko pratikshyama baato herera baseka chhan...
    Hats-off..
    ati ramro...

    ReplyDelete