अस्ताउँदो सूर्य
सबेरै बिहानी आशा बोकेर
उग्रिन्छ दैलो सुस्तरी त्यहाँ
भोक छ कतै, प्यास छ कतै
पूर्वीय लाली छरिन्छ त्यहाँ
पसिना धारा बग्दैछ अझै
पिढ्यौँमा भारी बढ्दैछ अझै
बिहानी ल्याउँन हिडेका सन्तान
मिर्मिरे नभै छोडेर गए
भरोषा बाडेर गएका यात्री
भुलेर बाटो फर्किनन् त्यहाँ
बद्लिँदो बादल घेर्दैछ बस्ती
आँधी-असिना बर्सिन होला
चुहिने छानो चिन्तित हुन्छ
निराशा बढ्दै हरेष खान्छ
फेरिने सपना तुहिँदै आज
सिथिल जीवन मर्दैछ त्यहाँ
कठिन यात्रा गरेथ्यो हिजो
भोक-भोकै यौवन मरेथ्यो हिजो
चाउरिय कतै खिइए हड्डी
भरोषा कहिल्यै टुटेन हिजो
आशाको दियो सल्किँदै आज
वर्तन नभै निभ्दैछ त्यहाँ
चिम्लेर आँखा हिड्दैछौँ हामी
स्वार्थको अर्कै बाटो समाती
भुलेर बस्ती बदल्ने बाचा
रम्दैछौँ यता भिडन्त गर्दै
डुब्दैछ हेर त्यो लाल सूर्य
मसाल कस्ले सल्काउँछ त्यहाँ ??!!
मधुश्री
९ माघ २०६७
http://www.janajibro.com/epaper.php
No comments:
Post a Comment