Wednesday, April 20, 2011

दोधारमा उभिएको युग

दोधारमा उभिएको युग

डुल्दैछु म भौँतारिँदै बस्ती भरि मुक्ति खोज्दै
आँधीहुरी बतासमा आशाको यो दियो बाल्दै
खँडेरीमा सुख्खा माटो जस्तै भयो मन आज
झरी पात आगो सल्के जस्तै भयो तन आज

पूर्वीय यो लाली आफैँ फिक्का हुँदै गए जस्तो
लालरङ्ग गुराँसमा गुम्सिएरै रहे जस्तो
भँगेरा र भँगेरीको कथा लोप भए जस्तो
दिक्क छु म हैरानछु बैरागीको लय जस्तो

चल्दैछ रे अन्तर्द्धन्द मनहरु फाट्दैछन् रे
उकालीका बाटाहरु चौतारीमा थाक्दैछन् रे
सपनाको वृक्षभरी आतंक पो फल्दैछ रे
आफ्नै आँखा अघि आफ्ना आस्थाहरु जल्दैछन् रे

खुसी हुने लहरमा उल्लासको याम रैछ
हतारोमा चम्किदिने डुब्न लाग्या घाम रैछ
अंकुसेले तानी झारी किल्ला तिरै लाम रैछ
जलाएर मुक्तियात्रा बिजयको नाम रैछ

सकेँ भन्थेँ संकट यो झनै गारो दिन आयो
अधुरो यो यात्रा पुरा गर्न युग लिन आयो
हार्नु हुन्न हामी हारे जन्मौँ जन्म युग हार्छ
उम्रिँदैन नयाँ बोट कोपिलामैँ फूल झार्छ

फर्कनुछ युद्धभुमि माया मोह त्यागौँ साथी
बलिदान हुनु रैछ जिन्दगी यो जागौँ साथी
नवयुग भित्र्यौँनुछ जोस सँगै लागौँ साथी
समानता स्वतन्त्रता सभ्य युग मागौँ साथी

मधुश्री
२१ चैत २०६७

No comments:

Post a Comment