Wednesday, November 9, 2011

अतृप्त चाहना

तिमी सँग सँधैँ भरी खुशी-खुशी बाँच्न पाउँ
ति नजर भित्र बसी तिम्रै दृष्टि देख्न पाउँ
मुस्कानमा तिम्रो खुशी सर्वत्र नै हेर्न पाउँ
अरु केही चाहिन्न भो तिम्रो प्रिय बन्न पाउँ

तिमी हाँस्दा यस्तो लाग्छ जुन तारा चम्किँदैछ
तिम्रो चाल देख्दा लाग्छ प्रगतीमा लम्किँदैछ
शब्द भित्र जादु बोल्छ हौसला र उत्साहका
तिमी छौ त उज्यालो छ मिठास छ संसारका

मन भित्र बस्न सक्छौ दुःख बीच खुशी छर्दै
न्यानो माया बाँड्न सक्छौ हत्केलामा माटो भर्दै
देश तिम्रो पहिचान गौरबले बाँच्न सक्छौ
बलिदान हुन सक्छौ मृत्युसँगै हाँस्न सक्छौ

तिम्रो आश्था लक्ष्यसँगै हातेमालो गर्न पाउँ
असमान समाजमा समानता छर्न पाउँ
जीवनको गोरेटोमा सबै खोला तर्न पाउँ
के चाहियो अरु प्रिय तिमीसँगै मर्न पाउँ

बन्दुकको नाल तिमी गोली बन्ने धोको मेरो
सारङ्गीको तार तिमी ध्वनी बन्ने धोको मेरो
कलमको धार तिमी शब्द बन्ने धोको मेरो
जनताको प्यार तिमी प्रिय बन्ने धोको मेरो

स्वार्थी सम्झ या लालची तिम्रो छायाँ बन्न पाउँ
मन मुटु दबै तिम्रा मेरो आफ्नै भन्न पाउँ
तिमी हिड्ने गोरेटोका पदचाप गन्न पाउँ
युग हिड्ने बाटो प्रिय सँगै मिली खन्न पाउँ

मधुश्री
२३ कात्तिक २०६८

No comments:

Post a Comment