Tuesday, February 7, 2012

पत्र: अँध्यारोबाट उज्यालो तिर

प्रिय मधु
जिन्दगीका हिसाब किताबहरुमा जोडघटाउ गर्दै जाँदा असरल्ल छरिएर भक्कानिन्छु कहिलेकाहीँ । आक्रोसका लाभाहरु निस्कन्छन् भित्री मनको अशान्त क्षितिजबाट । भत्भती पोल्छ मन । संसारै आगो लागेजस्तो हुन्छ । आँखाहरु आगोका फिलिंगा झैँ राता बन्छन् । बर्षौँ देखिको योजनाबद्ध गोरेटो भत्केर लथालिंग हुँदा अनन्त सन्नाटामा हराएको छु म ! अनकन्टार गुफामा निसास्सिएको यात्री भएकोछु म ! मुक्तिको ढोकाहरु क्रमश : बन्द हुँदै गएको देख्छु । निराशाले भरिएको संकटग्रस्त यो समयमा म तिमीलाई हृदयदेखि नै सम्झिरहेको छु । नढाँटी भन्नु पर्दा मेरो आशा अब तिमीमात्र हौ । यो अन्धकारबाट टाढा क्षितिजमा धिपधिपाई रहेको शुष्म दियो देखिरहेको छु । सायद त्यो तिमीले नै बालेको हुनुपर्छ हाम्रो मित्रताको लागि ! तिमीलाई सम्झिन, तिम्रो बिचारलाई बुझ्न ढिलो भएकोमा पश्चाताप गर्दै हतारिँदैछु तिमीसम्म पुग्नको लागि ।


साँच्चै मधु ! केही अगाडि सम्म सम्झँन्थेँ तिमी मेरी दुश्मन हौ । प्रतिद्वन्द्वी हौ । तिमीले गर्ने यात्रा र मैँले गर्ने यात्रामा आकाश पातालको फरक छ जसको मिलन कहिल्यै हुँदैन । हामी नदीका दुई किनार हौँ । तिमीले रुझाउँने किनारा र मैले भिजाउँने किनारा बिल्कुल फरक छन् । तिमी मनले यात्रा गर्छौ त म स्पष्ट धर्तीमा टेकेर । तिमी कल्पनामा उड्छौ त म यथार्थमा रमाउँछु । म प्रत्यक्ष चुमेर महशुस गर्थेँ त तिमी नचुमेरै त्यो मिठास पाएको घमण्ड गर्थ्यौ । म घुमेर खुशी बटुल्थेँ त तिमी नघुमेरै रमाउँथ्यौ । म गाली खान्थेँ, दुःखी हुन्थेँ त तिमी मन्द-मन्द मुस्कुराउँथ्यौँ । जतिबेला म डराउँथेँ त्यतिबेला तिमी खुशी देखिन्थ्यौ । तिमीमा बेग्लै उर्जा थियो । म हाडा गर्थेँ तिम्रो । तर तिमी मलाई साथीको रुपमा स्वीकार्थ्यौ । मित्रताको लागि हात फैलाउँथ्यौ । म सोच्थेँ तिमी झुटी हौ । तिम्रो छायाँ सम्म पनि देख्न चाहन्न थिएँ म । म ठान्थेँ म सत्य छु । म असल छु । तिमीले सत्यताको बयान गरेको सुहाउँन्न ।

हो मधु ! जब केही दिन अगाडि तिमीले जीवनलाई गणितको रुपमा ब्याख्या गर्यौ त्यसले मेरो आँखा खोलिदिएको छ । तिमी पथ्थरमा फूल खोजिरहेकी छ्यौ । यता म फूलमा पथ्थर खोजिरहेको छु । हामी बिचको लामो अन्तरकृया, लामो बहसले पनि हाम्रो दुरी छोट्याउँन सकिरहेको थिएन । तर आज म तिम्रो हिसाबबाट सोच्दा मेरो यात्रा सहज देखिरहेको छु । म जुन दु:खमा डुबिरहेको छु यसलाई तिमीसँग बाँड्दा या अरु कोही बिस्वासिलो मान्छेसँग बाँड्दा पक्कै पनि यो दु:ख कम हुने छ । हुन त एउटाको दु:ख अर्कोलाई दिएर किन दुखाउँनु यो प्रश्न पनि छ । तर यो सही हो कि भोग्नेलाई जति दु:ख सुन्नेलाई हुँदैन । सुन्नेले त्यो दु:खबाट फुत्कने बाटाहरु पनि देखाउँन सक्नेछ । तसर्थ दुःखलाई भाग गर्ने कुरा मैँले स्वीकारेँ । अर्को रह्यो खुशी गुणन गर्ने । स-साना खुशीहरुलाई पनि उल्लासको रुपमा ग्रहण गर्ने हो भने त्यो खुशी पक्कै पनि दुगुना हुँदै जानेछ । आफूमात्र हैन आफ्नो वरिपरिकाहरुलाई पनि खुशी पार्न सकिने छ । साँच्चै मधु आज त्यो टाढा बलिरहेको दियोले पनि मलाई खुशी दिएको छ । जब त्यस तर्फ पाईलाहरु बढाउँदैछु भने मैँले बाटोभरी सबैलाई खुशीको आभास गराउँने छु किनकी म खुशी भेट्न जाँदैछु । मलाई बिस्वास पनि छ कि त्यहाँ पुग्दा यो अँध्यारो पुरै हट्नेछ ।
त्यसैगरी असल मित्रहरुलाई जोडौँ र शत्रुहरुलाई घटाउँ । अथवा अर्को अर्थमा भन्नु पर्दा सच्चा माया-प्रेमलाई सर्वत्र फुलाउँ । हाम्रै उदाहरण लिउँ न ! तिम्रो नराम्रो सोच्दा-सोच्दै पनि म तिमी प्रति आकर्षित भएको छु । कारण तिमीले दिने न्यानो माया हो । तिमीले बाँड्ने सकारात्मक सोँच हो । साँच्चै असल मित्र खोज्न अन्त जानु पर्दैन मात्र आफ्नो दृष्टिकोण बदल्नु पर्ने रहेछ । यतिबेला मेरो शत्रु (जुन म सम्झन्थेँ) तिमी एउटा घट्यौ र असल मित्रको रुपमा देखिन थाल्यौ । असल त तिमी पहिले नै थियौ तर मेरो दृष्टिकोण गलत थियो । त्यसैले आज असल मित्र बनेर जोडिन चाहन्छु तिम्रो गोरेटोमा । जुन गोरेटोमा तिमी अझै मेरो प्रतिक्षा गरिरहेकी छ्यौ ।

मधु ! म ईर्ष्या गर्थेँ तिम्रो स्वभावको । तिमी म भित्र फूल देख्थ्यौ जब की म आफैँ पत्थर हुँ भनेर स्वीकारी रहन्थेँ । तिम्रो त्यो अटल बिस्वास, हिम्मत, आँट, हौषला, उर्जाले भरिएको न्यानो तालमा पथ्थर फ्याँकेर तिमीलाई बर्बाद गर्न खोजिरहन्थेँ म । तिमी मुक्तीको कुरा गर्थ्यौ । म त्यो असम्भव देख्दै पिंजडामा नै जिन्दगी सुखी देख्थेँ । तिमी अग्रगमनको कुरा गर्थ्यौ म यथास्थितिको । तिमी सर्वत्र फैलिएकी थियौ उर्जा बनेर । म डाह गर्थेँ त्यो उर्जाको । म जति बलियो तिमी छैनौँ भन्ने घमण्ड थियो मलाई । "म त्यो चट्टान हुँ । मसँग ठोकिँदा तिमी आफैँ घाइते हुनेछौ " यसै सोच्थेँ म । तर कलकलाउँदो पानीले नै चट्टानलाई टुक्र्याउँदो रहेछ । हेर्दा-हेर्दै म टुक्रिँदै गएँ । मेरो वरिपरिका दृश्यहरु तिमीतिर लचिलो बन्दै गए । मसँग कुम जोडेर बस्नेहरु तिम्रो प्रशंसा गर्न थाले । म सबैको आँखामा छु । मेरो सिंगो आकृति (पाँच फूट पाँच ईन्चको) सबैले देख्छन् । तर तिमी उनीहरुको मनमा छौ । हिम्मतमा छौ । कठिन पलहरुमा छौ । म कसैलाई छुन सक्दिन तर तिमी उठाउँन सक्छौ । साँच्चै मधु ! मैँले आज मेरो कमजोरी देखेँ । म भित्रको अहंकार देखेँ । यही अहंकारबाट मुक्त हुन खोजिरहेको छु यतिबेला । लाग्दैछ तिमीले देखेको मुक्तिको सपना पनि यहि हो । हामी सम्पूर्ण हाम्रा कमजोरीहरुबाट मुक्त हुन सक्यौँ भने हामी मुक्त हुनेछौँ । आफ्नो गलत प्रबृतिबाट मुक्त हुन सक्नु पर्छ । अरुलाई दुःख दिएर, पिडा दिएर आनन्द लिने खराब बानीबाट मुक्त हुनु पर्छ । ब्यक्तिगत लालचबाट मुक्त हुनु पर्छ । गलत बिचारहरुले भरिएको आलस्यताबाट मुक्त हुँदै हिम्मत, आँट हौषला र उर्जाले भर्नुपर्छ मन मष्तिष्कलाई । तब हामी मुक्त हुनेछौँ । मुक्तियुद्ध पहिले आफैँसँग लड्नुपर्ने रहेछ । यदी आफूमा बिजय भयौँ भने हामी कतै हार्ने छैनौँ । आज तिम्रो बिचार र सिद्धान्तको अर्थ बुझ्दैछु मधु । यतिबेला म पनि लडिरहेको छु यो मुक्तिको युद्ध । आफैँसँग लडिरहेको छु ।

'उद्देश्य के लिनु उडी छुनु चन्द्र एक" पक्कै पनि देवकोटाले त्यतिकै भनेका हैनन् । आज मेरो लक्ष्य रहेको छ तिमीले सल्काएको त्यो दियो सम्म पुग्ने र तिमीसँगै मुक्तिगामी यात्रामा सरिक हुँने । धेरै पटक रोएँ तिमीले मेरा लागि गरेको अनौपचारिक "सम्बोधन" पढेर । तिम्रो त्यो प्यारो मन "म" ढिलै भएपनि तिम्रो मायालाई सम्हालेर फर्किरहेकोछु तिम्रो हृदयमा । यो अनकन्टार गुफाबाट मुक्तिको आशा लिएर सुस्तरी चाल्दैछु पदचापहरु । तिमीले सम्बोधनको औपचारिकता ननिभाउँदै म तिम्रो अंगालोमा आइपुग्नेछु । मेरो हातमा हत्कडी नलाग्दै म काममा फर्किसक्नेछु । हो मधु तिम्रो सहयात्री भएर तिमीसँगै यात्रा गर्नको लागि हतार गरिरहेको छु । आशा छ केही समय प्रतिक्षा गर्नेछौ । म यो पिडाको दलदलबाट मुक्त भएर तिम्रो मझेरीको दियोमा तेल नसकिँदै आईपुग्नेछु ।

उही तिम्रो मन

उरु !
२६ पौष २०६८

No comments:

Post a Comment